वासिङ्टन, २० कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गर्ने विषयमा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गर्नुभएको छ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का व्यहोरेपछि उहाँको अभिव्यक्ति केही नरम देखिए पनि थप आक्रमणको सम्भावना कायमै छ ।
फक्स न्युजका अनुसार ह्वाइट हाउसमा बुधबार र बिहीबार यसबारे महत्त्वपूर्ण बैठक भएका थिए । ट्रम्पले बिहीबार पत्रकारहरूसँग इरानको आणविक कार्यक्रम स्थायी रूपमा समाप्त गर्न थप आक्रमण आवश्यक पर्ने वा नपर्ने विषयमा अमेरिकाले चाँडै निर्णय गर्ने बताउनुभयो । उहाँले सम्भव भएसम्म इरानको बाँकी भाग नष्ट गर्न नचाहेको तर आवश्यक परे त्यसो गर्नुपर्ने हुन सक्ने उल्लेख गर्नुभयो ।
यसअघि ट्रम्पले इरानको बाँकी सैन्य क्षमता, ऊर्जा पूर्वाधार र पुलहरूलाई निशाना बनाउन सकिने चेतावनी दिनुभएको थियो । इरानको पुनर्निर्माणमा २५ वर्ष लाग्न सक्ने उहाँको अनुमान छ । यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले इरानमा प्रमुख सैन्य कारबाही पुनः सुरु गर्ने तयारी अन्तिम चरणमा पु¥याएको भए पनि ह्वाइट हाउसको औपचारिक निर्देशन प्राप्त भइसकेको छैन ।
यसअघि अक्टोबर ८ मा ट्रम्पले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गर्नुभएको थियो । निर्वाचनपछि इन्धनको मूल्यवृद्धि र युद्धप्रति जनसमर्थन घटिरहेको अवस्थामा थप सैन्य कारबाहीले प्रशासनलाई राजनीतिक चुनौती दिन सक्ने देखिएको छ ।
यसैबीच, इराकका प्रधानमन्त्री अली फालेह अल–जैदीले बिहीबार राष्ट्रपति ट्रम्पसँगको टेलिफोन वार्तामा आफ्नो देशको भूमि छिमेकी राष्ट्रविरुद्ध आक्रमण गर्न प्रयोग गर्न नहुने बताउनुभएको छ । उहाँले सबै राष्ट्रको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
इरानमाथि थप आक्रमण गर्ने वा वार्ताबाट द्वन्द्व समाधान गर्ने अमेरिकी निर्णयले हर्मुज जलघाँटी हुँदै हुने समुद्री ढुवानी र विश्व ऊर्जा बजारमा समेत प्रभाव पार्ने देखिएको छ ।रासस/एएनआई
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया