काराकस, १६ कात्तिक : भेनेजुएलाको सेनाले पश्चिमी अपुरे राज्यमा रहेको कोलम्बियाली विद्रोही समूह नेसनल लिबरेसन आर्मी (इएलएन) को शिविरमा गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ड्रोन र आक्रमणकारी हेलिकप्टरबाट गरिएको हमलामा मारिने अधिकांश भेनेजुएलाका नागरिक रहेको सैन्य स्रोतले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा मानव अधिकार उल्लङ्घनको निगरानी गर्ने गैरसरकारी संस्था फन्डारेड्सका संयोजक जुआन फ्रान्सिस्को गार्सियाले आक्रमणमा सुरुमा नौ जनाको मृत्यु भएको र भोलिपल्ट थप १० शव सान फर्नान्डो लगिएको बताउनुभयो ।
नाम सार्वजनिक नगर्ने सर्तमा एक सैन्य स्रोतले आक्रमणमा अमेरिकी गुप्तचर निकाय सिआइए र एफबीआईको सहयोग रहेको तथा यो अमेरिकी आदेशमा गरिएको दाबी गरे । यसबारे अमेरिकी विदेश मन्त्रालय र भेनेजुएला सरकारले तत्काल प्रतिक्रिया दिएका छैनन् ।
भेनेजुएला र कोलम्बियाबीचको दुई हजार २०० किलोमिटर लामो सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी, अवैध खनन र अन्य तस्करीमा संलग्न सशस्त्र समूह सक्रिय छन् । सन् २०१६ मा फार्क विद्रोही समूहले कोलम्बिया सरकारसँग शान्ति सम्झौता गरेपछि इएलएन ल्याटिन अमेरिकाको सबैभन्दा शक्तिशाली विद्रोही समूह बनेको छ ।
मानव अधिकार अधिवक्ता तथा सैन्य मामिलाकी विशेषज्ञ रोसियो सान मिगुएलले पछिल्लो आक्रमणले भेनेजुएलाको सैन्य नीतिमा परिवर्तन आएको सङ्केत गरेको बताउनुभयो । सैन्य स्रोतले सीमावर्ती क्षेत्रमा थप विद्रोही शिविर रहेको आशङ्का गर्दै खोजी अभियान जारी राख्ने जनाएको छ ।
अमेरिकाले गत जनवरीमा निकोलस मदुरोलाई सत्ताच्युत गरेपछि भेनेजुएलाको नीतिमा आएको परिवर्तनसँग पनि यो कारबाही जोडिएको हुन सक्ने बताइएको छ । मदुरोकी पूर्वसहयोगी डेल्सी रोड्रिगेजको नेतृत्वमा रहेको सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएको छ ।
कोलम्बियाका नवनिर्वाचित कट्टर दक्षिणपन्थी राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले इएलएन र लागुऔषध तस्करीमा संलग्न समूहविरुद्ध कडा कारबाही अघि बढाइरहेका बेला यो घटना भएको हो । कोलम्बिया लागुऔषध तस्करी र सङ्गठित अपराध नियन्त्रण गर्न अमेरिकी नेतृत्वमा सञ्चालित क्षेत्रीय प्रयासमा अन्य एक दर्जनभन्दा बढी ल्याटिन अमेरिकी तथा क्यारिबियन राष्ट्रसँग सहभागी छ । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया