वासिङ्टन डिसी। अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन्। न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको छ।
टेक्सासमा जेम्स तालारिकोले रिपब्लिकन केन प्याक्सटनलाई ५०-४३ प्रतिशत, कन्सासमा क्रिस ह्यामिल्टनले रोजर मार्सललाई ४९-४४ प्रतिशत र मेनमा ग्राहम प्लाटनरले सुसान कोलिन्सलाई ५१-४५ प्रतिशतले पछाडि पारेका छन्।
ओहायोमा सेरोड ब्राउन र अलास्कामा मेरी पेल्टोला पनि आफ्ना रिपब्लिकन प्रतिस्पर्धीभन्दा अगाडि छन्। आयोवामा डेमोक्रेट जोश टुरेकले ४८ र रिपब्लिकन एस्ले हिन्सनले ४७ प्रतिशत समर्थन पाएका छन्। मिशिगनमा डेमोक्रेटिक उम्मेदवार अब्दुल एल-सायेद ५३ प्रतिशतसहित अगाडि छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको असन्तुष्टि र बढ्दो जीवनयापन खर्च चुनावका प्रमुख मुद्दा बनेका छन्। सर्वेक्षण गरिएका सात राज्यमा ट्रम्पको कार्यसम्पादनलाई ३८ प्रतिशतले मात्र समर्थन गरेका छन्। जीवनयापन खर्चको मुद्दामा डेमोक्रेटहरूले रिपब्लिकनमाथि नौ प्रतिशत अंकको अग्रता लिएका छन्।
सिनेटमा बहुमत हासिल गर्न डेमोक्रेटहरूले रिपब्लिकनका कम्तीमा चार सिट जित्नुपर्नेछ । नोभेम्बर ३ मा हुने चुनावमा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ। सर्वेक्षणले डेमोक्रेटहरूलाई सिनेटको नियन्त्रण प्राप्त गर्ने सम्भावना देखाए पनि अन्तिम नतिजा मतदाताको निर्णयमा निर्भर रहनेछ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया