कार्तिक १६, २०८३ सोमबार November 2, 2026

स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम

दुई हजार ५७२ जना मतदाताको नाम सूचीबाट आउट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वालिङ (स्याङ्जा), १६ कात्तिकः जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । कार्यालयले असोजमा सम्पन्न गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार मृत्यु भएका र दोहोरो नामावली भएकाको नाम मतदाता सूचीबाट हटाएको हो ।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार एक हजार ३०८ जना मृत्यु भएका र एक हजार २६४ जना दोहोरो नामावली भएका गरी कुल दुई हजार ५७२ जना मतदाताको नाम सूचीबाट हटाइएको हो ।

“यसअघि मतदाताको नामावलीमा भएका त्रुटि सच्याउनका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन प्राप्त भएका थिए”, उहाँले भन्नुभयो, “प्राप्त निवेदनका आधारमा यस अवधिमा ३४५ जना मतदाताको नामावलीमा भएका त्रुटि सच्याइएको छ ।”

ठेगाना र मतदान केन्द्र फरक परेका ७७२ जनाको मतदान केन्द्र (ठाउँसारी निवेदन)का आधारमा केन्द्र परिवर्तन गरिएको छ । कार्यालयले गत असोजमा मतदाताको नामावली अद्यावधिक गरेको थियो । अद्यावधिकपश्चात् निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीबमोजिम २०८३ भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या दुई लाख ४९ हजार ६३ कायम भएको छ । त्यसमध्ये पुरुष एक लाख २३ हजार ११२ जना, महिला एक लाख २५ हजार ९५० जना र अन्य एक जना छन् ।

विसं २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुई लाख ४८ हजार ८१६ मतदाता सङ्ख्या कायम रहेको थियो । मतदाता अद्यावधिक कार्यक्रमपश्चात् मतदाताको सङ्ख्या बढेको छ । गत फागुनमा सम्पन्न भएको निर्वाचनमा कायम भएका सङ्ख्याभन्दा अद्यावधिक भएपछि २४७ जना मतदाता बढेको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया