काठमाडौं । नेपाल भ्रमणमा रहेका स्वीट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजलाई सभामुख डोलप्रसाद (डीपी) अर्यालले शुक्रबार बिदाइ भेट दिएका छन्। सभामुख अर्यालको निमन्त्रणामा गत कात्तिक १६ गते ६ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका अध्यक्ष पेजको भ्रमण सफलतापूर्वक सम्पन्न भएकोमा सभामुखले खुसी व्यक्त गरेका छन्।
भेटका क्रममा सभामुख अर्यालले नेपाल र स्वीट्जरल्यान्डबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमणले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उच्चस्तरीय भ्रमणले दुई देशबीच संसदीय अनुभव आदानप्रदान, आर्थिक सहकार्य, सङ्घीय शासन प्रणालीको सुदृढीकरण तथा जलवायु परिवर्तनका चुनौती सामना गर्ने क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने उनको भनाइ थियो।
अध्यक्ष पेजले नेपाल भ्रमणका क्रममा पाएको आत्मीय स्वागत र आतिथ्यताप्रति आभार व्यक्त गर्दै विभिन्न भेटघाट तथा अवलोकनबाट आफूहरू प्रभावित भएको बताए। भ्रमणले नेपाल र स्वीट्जरल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्ध तथा संसदीय सहकार्यलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
नेपाल भ्रमणका क्रममा स्विस प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेट गरेको थियो। यस्तै, पाटन सङ्ग्रहालयमा आयोजित ‘हाफ–वे बिट्विन अर्थ एन्ड स्काई : इन द फुटस्टेप्स अफ एला मेलार्ट’ शीर्षकको फोटो प्रदर्शनी सभामुख अर्याल र अध्यक्ष पेजले संयुक्त रूपमा उद्घाटन गरेका थिए। प्रतिनिधिमण्डलले नेपाल–स्वीट्जरल्यान्ड संसदीय मैत्री समूहका सदस्य तथा सङ्घीय संसद्का दुवै सदनका पाँच विषयगत समितिका सभापतिसँग पनि छलफल गरेको थियो।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बौद्धनाथ, पाटन दरबार क्षेत्रलगायत ऐतिहासिक तथा धार्मिक सम्पदाको अवलोकन गर्नुका साथै त्रिशूली (भोटेकोशी) नदीमा आएको बाढीपहिरोबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका क्षेत्रको पनि भ्रमण गरेको थियो। भ्रमण सम्पन्न गरी स्विस प्रतिनिधिमण्डल शनिबार साँझ ७:०५ बजे कतार एयरवेजको क्युआर ६४५ उडानबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ। नेपाल र स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा भएको यस भ्रमणलाई द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया