कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

काठमाण्डौंलाई चौबिसै घण्टा खुलाउने तयारी

ठमेलका समस्या समाधानका लागि जिल्ला प्रशासनमा मासिक बैठक गर्ने प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमात्र नभई समग्र काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले आज आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद पौडेलले काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो ।

उहाँले ठमेललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार लागिरहेको उल्लेख गर्दै गैरकानुनी गतिविधि नियन्त्रण गर्न घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताउनुभयो । ठमेलका समस्या समाधानका लागि जिल्ला प्रशासनमा मासिक बैठक गर्ने प्रस्ताव पनि उहाँले राख्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सार्वजनिक शौचालय, अव्यवस्थित पार्किङ, फोहोर, ट्राफिक जाम र मगन्तेलगायत समस्या समाधान गर्न सम्बन्धित निकायसँग सहकार्य भइरहेको बताउनुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन स्थानीय र व्यवसायी तयार भए ट्राफिक प्रहरीले सहयोग गर्ने बताउनुभयो । जथाभाबी पार्किङ गर्नेलाई कारबाही गरिने उहाँले उल्लेख गर्नुभयो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले ठमेललाई सुरक्षित बनाउन घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताउनुभयो ।

परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले विसं २०८१ वैशाख १ गतेदेखि लागू गरिएको ठमेललाई २४ घण्टा सञ्चालन गर्ने आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा घरधनी तथा व्यवसायीले राति आवतजावतमा कठिनाइ, लागुऔषध कारोबार तथा सेवन, फोहोर, अव्यवस्थित पार्किङ र ढलका कारण सात घुम्तीमा पानी जम्ने समस्याबारे ध्यानाकर्षण गराएका थिए ।

परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको पर्यटन विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । विसं २०४८ मा स्थापना भएको परिषद्ले ठमेलको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएको महासचिव पशुपति कँडेलले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया