काठमाण्डौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया शनिबारदेखि वडा तहबाट सुरु हुँदै छ। महाधिवेशनलाई लिएर पार्टीभित्र ध्रुवीकरण भइरहेका बेला गाउँ र वडास्तरका कार्यकर्ता अधिवेशनमा सक्रिय रूपमा जुटेका छन्। देशभरिका वडामा शनिबार र आइतबार अधिवेशनसहित नेतृत्व चयन हुँदैछ।
केन्द्रमा नेताहरूले समानान्तर कार्यतालिका अघि सार्दै एकअर्काको महाधिवेशन बहिस्कार गर्न आह्वान गरिरहेका छन्। बाँकेमा गुटगत लबिइङ र प्रतिस्पर्धाबिच पनि अधिवेशन रोक्ने वा बहिस्कार गर्ने अवस्था देखिएको छैन। चारतारे झन्डा र रूख चिह्नलाई साझा पहिचान मान्दै कार्यकर्ता नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदैछन्। बाँकेका ८१ वटै वडामा शनिबार र आइतबार अधिवेशन हुने कांग्रेस बाँकेले जनाएको छ।
जिल्ला सभापति नारायण गौडेलका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। उनले भने, ‘पार्टीभित्र आआफ्ना धारणा होलान् तर यतिबेला चुनाव चिह्न रूख र चारतारे झन्डा नै आधिकारिक पहिचान भएकाले नेता तथा कार्यकर्ता अधिवेशनमा जुटेका छन्।’
८१ वडामध्ये करिब ४९ भन्दा बढीमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने केही वडामा निर्वाचन हुन सक्नेछ। जिल्लाका करिब साढे ११ हजार क्रियाशील सदस्यबाट दुई हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि छनोट हुने कांग्रेस बाँकेले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया