कार्तिक १८, २०८३ बुधबार November 4, 2026

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

पार्टीको नेतृत्वमाथि लागेका आरोप तथा सार्वजनिक भइरहेका सामग्रीको सत्यतथ्य छानबिन गर्न सरकारसँग आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, १८ कात्तिकः नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक संस्थाको स्वायत्तता कायम राख्दै सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताका आधारमा अघि बढ्न आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्नुहुँदै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारकर्मीलाई प्रतिपक्षका विषयमा मात्र नभई सत्तापक्षका गतिविधि र सरकारका निर्णयमाथि पनि निर्भीकतापूर्वक प्रश्न उठाउन आग्रह गर्नुभयो । उहाँले लोकतन्त्रको अवस्था मापन गर्ने महत्वपूर्ण आधार स्वतन्त्र प्रेस रहेको उल्लेख गर्दै पत्रकार स्वयं असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक भएको बताउनुभयो ।

“पत्रकारले कुनै राजनीतिक दल वा शक्तिको दबाबबिना सत्यतथ्य सार्वजनिक गर्न सक्ने वातावरण निर्माण हुनुपर्छ, कुनै पनि देशमा लोकतन्त्र छ वा छैन भन्ने कुराको सबैभन्दा बलियो आधार त्यहाँको प्रेसले निर्भयतापूर्वक लेख्न पाउँछन् कि पाउँदैनन् भन्ने हो”, वरिष्ठ उपसभापति शर्माले भन्नुभयो ।

वरिष्ठ उपसभापति शर्माले पत्रकारहरूले सत्तापक्ष र प्रतिपक्ष दुवैका गतिविधिलाई समान दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसको १५औँ महाधिवेशन र विशेष महाधिवेशनका विषयमा सार्वजनिक भइरहेका टिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीको विशेष महाधिवेशन विधानसम्मत रूपमा सम्पन्न भएको बताउनुुभयो ।

पार्टी विधानको दफा १७ को उपदफा २ अनुसार महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा विशेष महाधिवेशन सम्पन्न भएको र त्यसपछि निर्वाचन आयोगले पार्टीको अभिलेख अद्यावधिक गरेको वरिष्ठ उपसभापति शर्माले बताउनुभयो । यस विषयमा सम्मानित अदालतमा समेत बहस भई २०८३ वैशाख ४ गते फैसला आएको उल्लेख गर्दै उहाँले निर्वाचन आयोगको निर्णय र अदालतको आदेशमाथि प्रश्न उठाउने गरी भइरहेका प्रचारप्रति आपत्ति जनाउनुभयो ।

वरिष्ठ उपसभापति शर्माले पार्टीको १५औँ महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न भएको र निर्वाचन प्रक्रिया एकै रातमा पूरा भएको उल्लेख गर्दै महाधिवेशनमा सहभागी हुन नसकेका तथा बाहिर रहेका नेता कार्यकर्तालाई समेत समेटेर अघि बढ्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

सरकारले आफ्नो प्राथमिकता विपद्पछिको पुनर्निर्माण, पुनःस्थापना र प्रभावित नागरिकको राहतमा केन्द्रित गर्नुपर्ने वरिष्ठ उपसभापति शर्माले बताउनुभयो । विपद्बाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित नागरिकलाई राहत, पुनःस्थापना र आवासको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले सरकारको ध्यान अन्य विषयमा केन्द्रित भएकोप्रति प्रश्न उठाउनुभयो । उहाँले कांग्रेस जिम्मेवार प्रतिपक्षका रूपमा सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै वर्तमान सरकारलाई पाँच वर्षसम्म निरन्तर काम गर्न दिनुपर्ने पक्षमा पार्टी रहेको बताउनुभयो ।

“हामी सरकारलाई पाँच वर्षसम्म काम गर्न दिनुपर्छ भन्ने पक्षमा छौँ । तर सरकारको प्राथमिकता कहाँ छ भन्ने प्रश्न पनि उठाउँछौँ,” वरिष्ठ उपसभापति शर्माले भन्नुभयो । सरकारको नीति तथा कार्यक्रम तथा राष्ट्रिय महत्त्वका विषयमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले विपद् व्यवस्थापन र पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

पत्रकारलाई विश्वप्रकाशको प्रश्न- तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?पार्टी सभापति गगनकुमार थापासँग जोडिएका सार्वजनिक अभिव्यक्ति, श्रव्य सामग्री तथा विभिन्न आरोपका विषयमा कांग्रेसले गम्भीर चासो व्यक्त गरेको छ । पार्टीले ती विषयमा उठेका प्रश्नलाई बेवास्ता नगर्ने स्पष्ट पार्दै स्वतन्त्र, निष्पक्ष, तथ्यमा आधारित र विश्वसनीय अनुसन्धान हुनुपर्ने माग गरेको छ ।

पार्टीको नेतृत्वमाथि लागेका आरोप तथा सार्वजनिक भइरहेका सामग्रीको सत्यतथ्य छानबिन गर्न सरकारसँग आग्रह गर्दै वरिष्ठ उपसभापति शर्माले कांग्रेस कुनै पनि प्रकारको अनुसन्धानको सामना गर्न तयार रहेको बताउनुभयो । “नेपाली कांग्रेस पार्टी आफ्नो नेतृत्वका बारेमा उठाइने प्रत्येक प्रश्नको सामना गर्न र जस्तोसुकै छानबिन गर्न तयार छ । हामी स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धानको पक्षमा छौँ”, उहाँले भन्नुभयो ।

कांग्रेसले न्यायपालिकाको स्वतन्त्रता, राज्यका संस्थाहरूको सुदृढीकरण र विधिको शासनप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएको छ । सरकारले कुनै पनि व्यक्ति वा संस्थामाथि अनुसन्धान तथा कारबाही गर्दा पर्याप्त तथ्य, प्रमाण र कानुनी आधार स्पष्ट पार्नुपर्ने वरिष्ठ उपसभापति शर्माको भनाइ थियो । लोकतान्त्रिक व्यवस्थामा पारदर्शिता, जवाफदेहिता र कानुनी शासन अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले राजनीतिक दल, सरकारी निकाय र राज्यका अन्य संस्थाले पनि कानुनी प्रक्रिया पालना गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ उपसभापति शर्माले कांग्रेसले सरकारका कामकारबाहीमाथि संसदीय तथा राजनीतिक निगरानी जारी राख्ने र गलत गतिविधिका विषयमा आवाज उठाउने स्पष्ट पार्नुभयो । पत्रकार सम्मेलनमा उहाँले सञ्चारकर्मीलाई सत्तापक्ष र प्रतिपक्ष दुवैसँग समान रूपमा प्रश्न गर्न, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न तथा प्रेस स्वतन्त्रताको रक्षामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Home Minister confers rank insignia on IGP KC
२०८३ कार्तिक १८, बुधबार
झापाको बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति
२०८३ कार्तिक १८, बुधबार
पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना
२०८३ कार्तिक १८, बुधबार
लमजुङको खुदीमा धार्मिक तथा सांस्कृतिक मेलाको तयारी, मंसिर ४ देखि ९ गतेसम्म सञ्चालन हुने
२०८३ कार्तिक १८, बुधबार
आफू अनुकूलको काम गराउन आईजीपी परिवर्तन गरिएको हुन सक्छ : ओली
२०८३ कार्तिक १८, बुधबार
सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह
२०८३ कार्तिक १८, बुधबार
चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्न मन्त्री श्रेष्ठको निर्देशन
२०८३ कार्तिक १८, बुधबार