ललितपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले जनताका समस्या समाधानमा सक्रिय हुँदै पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्ने बताएकी छन्।
सो पार्टीको ललितपुर जिल्ला समितिले महालक्ष्मीस्थानमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्छ।’
पार्टीका विभिन्न मोर्चालाई जनसेवा र जनश्रमसँग जोड्नुपर्नेमा उनले जोड दिइन्। जनताका स्थानीय समस्या सङ्कलन गरी सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि पहल गर्नुपर्ने उनको भनाइ थियो। जनताले स्थानीयस्तरमा पार्टीप्रति व्यक्त गर्ने धारणा र सुझावलाई आत्मसात् गर्दै कमजोरी सच्याउनुपर्ने उनले बताइन्।
कार्यक्रममा ललितपुर महानगरका संयोजक रवीन्द्र महर्जनले जनसरोकारका विषय, सम्पदा क्षेत्रको संरक्षण र सरसफाइमा श्रमदानका लागि पहल भइरहेको जानकारी दिए।
यस्तै महालक्ष्मी नगरपालिकाका संयोजक राजेन्द्र अमात्य, गोदावरी नगरपालिकाका संयोजक भाग्यराम महर्जन र बागमती गाउँपालिकाका संयोजक बेलबहादुर लामाले पार्टीलाई जनताको हितमा काम गर्ने सङ्गठनका रूपमा विकास गर्नुपर्ने धारणा राखे। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया