असोज २२, २०८३ बिहिबार October 8, 2026

बेलायतको कठिन गस्ती अभ्यासमा नेपाली सेनाको ह्याट्रिक स्वर्ण

कठिन अन्तर्राष्ट्रिय सैनिक अभ्यासमा नेपाली सेनाको निरन्तर उत्कृष्ट प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लन्डन । नेपाली सेनाले बेलायतमा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय गस्ती अभ्यास ‘क्याम्ब्रियन पट्रोल एक्सरसाइज’ मा लगातार तेस्रो वर्ष स्वर्ण पदक जितेको छ। वेल्सको ब्रेकनमा सञ्चालित यस वर्षको प्रतियोगितामा ३५ राष्ट्रका १३० अन्तर्राष्ट्रिय टोली सहभागी भएका थिए।

लन्डनस्थित नेपाली राजदूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहका अनुसार नेपाली सेनाले सन् २०२४ देखि लगातार तीन वर्ष यस अभ्यासमा स्वर्ण पदक हासिल गरेको हो। सन् २०१७ र २०१९ मा समेत स्वर्ण जितेको नेपाली सेनाले यस उपलब्धिसँगै अन्तर्राष्ट्रिय सैनिक अभ्यासमा आफ्नो क्षमता पुनः प्रदर्शन गरेको छ।

बेलायती सेनाको गस्तीसम्बन्धी प्रमुख अभ्यास मानिने यस प्रतियोगिताको आयोजना मुख्यालय १६०औँ (वेल्स) ब्रिगेडले गरेको हो। सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस अभ्यासमा नेपाली सेना सन् २०१४ देखि सहभागी हुँदै आएको छ।

लेफ्टिनेन्ट कर्णेल निश्चल पाठकको टिम व्यवस्थापन र लेफ्टिनेन्ट प्रवीण पाण्डेको गस्ती कमान्डमा १० सदस्यीय नेपाली सैनिक टोली हाल बेलायतमा छ।

कठिन शारीरिक तथा मानसिक चुनौती समावेश हुने यस अभ्यासमा सहभागी टोलीको लडाइँ तयारी, सूचना सङ्कलन, घाइते तथा बिरामीको व्यवस्थापनलगायतका सैनिक दक्षता परीक्षण गरिन्छ।

आठ चरणमा विभाजित अभ्यासमा सहभागी टोलीले ४८ घण्टाभित्र हतियार र करिब ३२ किलोग्राम तौलका उपकरण तथा बन्दोबस्ती सामग्री बोकेर ६० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ।

यसअघि नेपाली सेनाले सन् २०२४ र २०२५ मा पनि स्वर्ण पदक जितेको थियो। पछिल्लो उपलब्धिले कठिन अन्तर्राष्ट्रिय सैनिक अभ्यासमा नेपाली सेनाको निरन्तर उत्कृष्ट प्रदर्शनलाई थप उजागर गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया