लिवाङ, रोल्पा । रोल्पामा भलिबल प्रतियोगितालाई व्यवस्थित, मर्यादित र विवादरहित बनाउन जिल्ला भलिबल संघ रोल्पाले आधिकारिक रेफ्रीको व्यवस्था अनिवार्य गर्न माग गरेको छ ।
विभिन्न खेलकुद महोत्सव, मेला, उत्सव तथा क्लबका वार्षिक कार्यक्रमका अवसरमा सञ्चालन हुने भलिबल प्रतियोगितामा आफूअनुकूल व्यक्तिलाई रेफ्री राख्ने प्रवृत्ति बढ्दै गएपछि खेल सञ्चालनमा समस्या तथा विवाद उत्पन्न हुने गरेको संघले जनाएको छ ।
भलिबल प्रतियोगितामा दक्षता तथा आधिकारिक लाइसेन्स नभएका व्यक्तिलाई रेफ्रीका रूपमा जिम्मेवारी दिँदा खेलको निर्णयमा विवाद हुने, खेलाडी तथा आयोजकबीच असमझदारी बढ्ने र कतिपय अवस्थामा अप्रिय घटना हुनसक्ने भन्दै संघले यस्तो व्यवस्था गर्न पहल गरेको हो ।
नेपाल भलिबल संघको निर्देशन तथा प्रचलित नियमअनुसार रोल्पा जिल्लाभित्र आयोजना हुने भलिबल प्रतियोगिता जिल्ला भलिबल संघको पूर्वस्वीकृति लिएर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गर्न संघले माग गरेको छ । प्रतियोगितामा नेपाल भलिबल संघ वा सम्बन्धित निकायबाट लाइसेन्स प्राप्त रेफ्रीलाई मात्र जिम्मेवारी दिनुपर्ने संघको भनाइ छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रोल्पामा ज्ञापनपत्र बुझाउँदै प्रतियोगिता सञ्चालनमा एकरूपता कायम गर्न सहयोग र समन्वय गर्न आग्रह गरेको छ । संघका अध्यक्ष हिमाल डाँगीद्वारा हस्ताक्षरित पत्रमा जिल्लाका विभिन्न स्थानमा आयोजना हुने भलिबल प्रतियोगितालाई व्यवस्थित बनाउन आवश्यक निगरानी र समन्वय गरिदिन अनुरोध गरिएको छ ।
संघका अनुसार यही २० गते बसेको जिल्ला भलिबल संघ रोल्पाको बैठकले जिल्लाका कुनै पनि स्थानमा सार्वजनिक मेला, महोत्सव, उत्सव वा अन्य कार्यक्रमका अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्दा संघको पूर्वअनुमति लिनुपर्ने निर्णय गरेको छ । प्रतियोगिता सञ्चालन गर्नुअघि संघले तोकेको दस्तुर बुझाउनुपर्ने र आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया