असोज २२, २०८३ बिहिबार October 8, 2026

पछिल्लो दश वर्षमा जुन स्तरको विकास भएको छ, यो संघीयताकै देन हो : मुख्यमन्त्री शाही

विगतले नेपाली जनतालाई अधिकारसम्पन्न बनाएको र विकासको लहर ल्याएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विगतमा भएको राजनीतिक परिवर्तन र आन्दोलनका कारण नेपाली जनताले अधिकार पाएको बताएका छन्।

दैलेखको डुंगेश्वर गाउँपालिका-१ चुप्रामा आयोजित सांस्कृतिक महोत्सवको बुधबार उद्घाटन गर्दै उनले विगतमा केही भएन भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको बताए। विगतले नेपाली जनतालाई अधिकारसम्पन्न बनाएको र विकासको लहर ल्याएको मुख्यमन्त्री शाहीले दाबी गरेका हुन्।

मुख्यमन्त्री शाहीले कर्णालीजस्तो विकट भूगोल संघीयताकै कारण राज्यको मूल प्रवाहमा जोडिन सक्षम भएको जनाए। उनले भने, ‘मुलुकमा गणतन्त्र र संघीयता आउँथेन भने डुंगेश्वर गाउँपालिका यो संरचनामा तयार हुँदैनथ्यो। पछिल्लो दश वर्षको अवधिमा जुन स्तरमा विकास भएको छ, त्यसबाट स्थानीय तह अधिकारसम्पन्न भएका छन्। यो संघीयताकै देन हो।’

कर्णाली प्रदेशको भौतिक पूर्वाधारमन्त्री हुँदा नै प्रदेश राजधानीबाट पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने योजना अघि सारेको स्मरण गर्दै उनले अगाडि भने, ‘मैले एक पटक अनुगमन पनि गरेको थिएँ। अहिले कालोपत्रे भइसकेको छ।’

उनले डुंगेश्वर गाउँपालिकाको समग्र विकासका लागि प्रदेश सरकारसँग अनुरोध भएमा आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाए। महोत्सवमा गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसी, वडाध्यक्ष श्याम रानालगायतका जनप्रतिनिधिको उपस्थिति थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया