असोज २२, २०८३ बिहिबार October 8, 2026

भोटेकोशी विनाशकारी बाढी: मृतकको संख्या १,४५७ पुग्यो

चार हजार ७ सय २० जना अझै बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार चार सय ५७ पुगेको छ। बिहीबार साँझ ६ बजेसम्म प्राप्त अद्यावधिक तथ्यांक अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट सो संख्यामा शव फेला परेको हो।

विपदबाट सबैभन्दा बढी प्रभावित जिल्लाहरूमध्ये चितवनमा ३६९, रसुवामा २३६, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ।

यसैगरी नुवाकोटमा २०५, गोरखामा ८०, धादिङमा ७३ र तनहुँमा ३८ जना गरी विभिन्न जिल्लाबाट कुल एक हजार चार सय ५५ वटा शव फेला परेका छन्। बाढीबाट गम्भीर घाइते भई काठमाडौंमा उपचार गराइरहेकामध्ये थप दुई जनाको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको कुल संख्या एक हजार चार सय ५७ पुगेको हो।

फेला परेका शवहरूको वैज्ञानिक विधिबाट पहिचान गर्न नेपाल प्रहरी तथा सम्बन्धित निकायहरू निरन्तर खटिएका छन्। पहिचान प्रक्रियाका लागि हालसम्म मृतकका एक हजार तीन सय ३७ र आफन्तका दुई हजार ८२ गरी कुल तीन हजार चार सय १९ वटा डिएनए नमुना संकलन गरिएको छ।

डिएनए नमुना संकलन लगायतका आवश्यक कानुनी प्रक्रिया पूरा गरी पहिचान नभएका एक हजार तीन सय ३४ वटा शवहरूलाई माटोमुनि सुरक्षित रूपमा राखिएको (व्यावस्थापन गरिएको) छ। सर्वसाधारण र आफन्तलाई सनाखत गर्न सहज होस् भन्ने उद्देश्यले पहिचान नभएका एक हजार चार सय ३८ वटा शवहरूको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा समेत अपलोड गरिएको छ।

बाढी प्रभावित क्षेत्रहरूमा उद्धार, बेपत्ताको खोजी, राहत वितरण र शव व्यवस्थापनलाई प्रभावकारी बनाउन हालसम्म सात हजार नौ सय ७५ जना प्रहरी कर्मचारीहरू प्रत्यक्ष रूपमा परिचालन गरिएका छन्।

बाढीका कारण हालसम्म बेपत्ता रहेका चार हजार सात सय २० जनाको खोजी कार्य निरन्तर जारी रहेको छ। यसैगरी बाढीबाट विस्थापित तथा प्रभावित भएका एक हजार एक सय ७९ जना व्यक्तिहरूलाई विभिन्न जिल्लाहरूमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा सुरक्षित राखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया