असोज २१, २०८३ बुधबार October 7, 2026

जसपाका २७ विभागमा केन्द्रीय सदस्यको जिम्मेवारी तोकिँदै

विभाग रोज्न जसपाका केन्द्रीय सदस्यलाई फाराम, शुक्रबारसम्म जिम्मेवारी टुंगिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्यहरूको कार्यविभाजनको तयारी थालेको छ। पार्टीले केन्द्रीय सदस्यहरूलाई आफूले जिम्मेवारी सम्हाल्न चाहेको विभाग रोज्न लगाएर जिम्मेवारी बाँडफाँट गर्ने प्रक्रिया अघि बढाएको हो।

बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीले प्रत्येक केन्द्रीय सदस्यलाई रुचिअनुसार विभाग छनोट गर्न आग्रह गरेको छ। त्यसका लागि सदस्यहरूलाई फाराम उपलब्ध गराइएको छ। सदस्यहरूले आफूले काम गर्न चाहेको विभागमा चिह्न लगाएर बिहीबारको बैठकमा फाराम बुझाउनुपर्नेछ।

जसपा नेपालले हाल २७ वटा विभाग गठन गरेको छ। केन्द्रीय सदस्यहरूबाट प्राप्त रुचि र सुझावका आधारमा विभागीय जिम्मेवारी तोकिने पार्टीले जनाएको छ।

तीन दिनसम्म सञ्चालन हुने केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउने तयारी गरेको छ। विभागीय जिम्मेवारीसँगै पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ।

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन तथा महासचिव प्रकाश अधिकारीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्। दुवै प्रतिवेदन केन्द्रीय सदस्यहरूको अध्ययनका लागि उपलब्ध गराइएको छ।

पार्टीका महासचिव डा. सुरेन्द्र झाका अनुसार बिहीबारदेखि राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले छलफल गर्नेछन्। छलफलका क्रममा प्राप्त सुझावलाई समेटेर आवश्यक संशोधन गरिने र त्यसपछि दुवै प्रतिवेदन पारित गर्ने तयारी छ।

बैठक शुक्रबारसम्म सञ्चालन हुने बताइएको छ। बैठकले जसपा नेपालको आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशा तय गर्नुका साथै केन्द्रीय सदस्यहरूको जिम्मेवारीसमेत टुंगो लगाउनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया