असोज २१, २०८३ बुधबार October 7, 2026

महेन्द्र यादवसहित सहमहामन्त्रीमा मधेशीतर्फ आठजनाको उम्मेदवारी, पार्टीमा कसको कति योग्दान ?

कपिलवस्तुका अभिषेकप्रताप साहको राजनीतिक यात्रा अन्य उम्मेदवारभन्दा फरक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम, २१ असोज । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसहमहामन्त्री महेन्द्र यादवसहित आठजनाले मधेशी समूहतर्फ उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरुमा महेन्द्र यादव, अजय चौरसिया, नागिना यादव, किरण यादव, अभिषेकप्रताप साह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्ताकुमारी यादव रहेका छन् ।

प्रतिस्पर्धाले मधेसमा कांग्रेसको पुरानो विरासतदेखि नयाँ राजनीतिक धारसम्मको प्रतिनिधित्वलाई एकै ठाउँमा ल्याएको छ । मधेशी समूहतर्फ पार्टीका पछिल्लो पटकका सदस्यदेखि पदाधिकारीसम्मका अनुभवी तथा नवप्रवेशीहरुसमेतले उम्मेदवारी दिएका छन् ।

महेन्द्र यादव : संगठनको लामो अनुभव

धनुषाका महेन्द्र यादव कांग्रेसको संस्थागत राजनीतिमा लामो समयदेखि सक्रिय नेता हुन् । उनी यसअघि नै सहमहामन्त्री तथा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । १४औँ महाधिवेशनमा मधेसी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका यादव यसपटक सोही पदमा पुनः प्रतिस्पर्धामा उत्रेका छन् ।

देउवा समूहका बलिया र मधेशका स्थापित नेताको रुपमा परिचित विशेष महाधिवेशनमा सहभागी नभएपनि पार्टीभित्र एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्दै गगन थापालाई सभापतिमा स्वीकार गर्दै समूहमा सहभागी भएका थिए ।

यादव तरुण दलका पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन् । उनी संविधानसभा तथा व्यवस्थापिका–संसदका सदस्य भइसकेका छन् भने खानेपानी तथा सरसफाइमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

कांग्रेसभित्र लामो समय देउवा पक्षका प्रभावशाली मधेशी नेताका रूपमा रहेका यादवलाई पछिल्लो राजनीतिक परिवर्तनपछि गगन थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । त्यसयता उनले पार्टीभित्र विभाजनभन्दा एकता र साझा नेतृत्वमा जोड दिँदै आएका छन् । पछिल्लो समय मधेशमा कांग्रेसको जनाधार फर्काउने लक्ष्यसहित पुनः सहमहामन्त्रीमै उम्मेदवारी दिएको उनको भनाइ छ ।

अजयकुमार चौरसिया : कांग्रेस–सद्भावना–कांग्रेस

पर्साका अजयकुमार चौरसिया मधेसका पुराना राजनीतिक अनुहार हुन् । उनको राजनीतिक यात्रा कांग्रेसबाट सुरु भए पनि २०४८ सालको निर्वाचनताका टिकट नपाएपछि सद्भावना राजनीतिमा पुगेको र पछि पुनः कांग्रेसमै फर्किएका थिए । त्यसयता उनले महासमिति सदस्यदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालेका छन् । उनी सांसद र मन्त्रीसमेत भइसकेका छन् । लामो संसदीय तथा संगठनात्मक अनुभव उनको प्रमुख राजनीतिक पूँजी हो  । पछिल्लो समय उनी पनि गगन थापा नेतृत्वको कांग्रेसको मूलधारमा महेन्द्र यादवसँगै सदस्यमा समेटिएका थिए ।

नागिना यादव : नेविसंघबाट महिला नेतृत्वसम्म

महोत्तरीकी नागिना यादवको राजनीतिक सक्रियता विद्यार्थी राजनीतिबाट नै गरेकी हुन् । २०५३ सालमा अध्ययनका क्रममा नेपाल विद्यार्थी संघसँग जोडिएर कांग्रेस राजनीतिमा प्रवेश गरेकी नेतृ हुन् उनी । १४औँ महाधिवेशनबाट मधेशी महिला कोटामा केन्द्रीय सदस्य बनेकी उनी पछिल्लो समय कांग्रेसको केन्द्रीय राजनीतिमा निरन्तर सक्रिय छिन् । उनी पनि थापा नेतृत्वको कार्यसमितिमा सदस्यमा मनोयन भएकी थिइन् ।

किरण यादव : संविधानसभा हुँदै केन्द्रीय राजनीतिमा

महोत्तरीकै अर्का महिला नेतृ किरण यादव पनि उम्मेदवार छिन् । उनको राजनीतिक यात्रा संसदीय राजनीतिसँगै सुरु भएको हो । उनी पहिलो संविधानसभा निर्वाचनपछि संविधानसभा सदस्य बनिन् र दोस्रो संविधानसभामा पनि निर्वाचित भइन् । पछिल्लो महाधिवेशन प्रक्रियामा उनी शेखर कोइराला समूहसँग नजिक रहेकी नेतृका रूपमा पनि चिनिन्थिन् । तर अहिले गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी छिन् ।

अभिषेकप्रताप साह : फोरमबाट कांग्रेससम्म

कपिलवस्तुका अभिषेकप्रताप साहको राजनीतिक यात्रा अन्य उम्मेदवारभन्दा फरक छन् । उनको प्रारम्भिक राजनीतिक सक्रियता तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको विद्यार्थी राजनीतिबाट भएको हो । फोरमको विद्यार्थी संगठनबाट सुरु भएको उनको यात्रा संविधानसभा सदस्य हुँदै राष्ट्रिय राजनीतिसम्म पुगेका साह २०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघि उनी नेपाली कांग्रेसमा प्रवेश गरे र त्यसपछि कांग्रेसबाटै संसदीय राजनीतिमा स्थापित छन् ।

रामपल्टन साह : नयाँ पुस्ताको अनुहार

धनुषाका रामपल्टन साह कांग्रेसभित्र नयाँ पुस्ताको राजनीतिक अनुहारका रूपमा अघि बढेका छन् । उनको राजनीतिक यात्रामा स्वर्गीय नेता प्रदीप गिरीको प्रभाव महत्वपूर्ण मानिन्छ । विशेष महाधिवेशनका क्रममा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठन सुधारको बहसमा उनी सक्रिय देखिएका थिए । विशेष महाधिवेशनपछि उनी मधेशी खुलातर्फ केन्द्रीय सदस्य बने । पुराना नेताहरूको तुलनामा छोटो राजनीतिक यात्रामै पदाधिकारीमा दाबी गर्नु उनको महत्वाकांक्षी छलाङका रूपमा हेरिएको छ।

मनिषकुमार मिश्र : लोसपाबाट कांग्रेसमा छिर्दै पदाधिकारीमा दाबी

सर्लाहीका मनिषकुमार मिश्रको कांग्रेस यात्रा भने सबैभन्दा नयाँमध्ये हुन । जेनजी पुस्ताको वकालत गर्दै आएका पछिल्लोपटक प्रतिनिधि सभाको निर्वाचनमा उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट कांग्रेसमा प्रवेश गरेका थिए । हुन त उनले लोसपामा महासचिव सम्हालिसकेका छन् । प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस प्रवेश गरेका मिश्रलाई सभापति गगन थापाले पार्टी प्रवेशसँगै केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । यसरी कांग्रेसमा प्रवेश गरेको छोटो समयमै उनी केन्द्रीय सदस्य हुँदै सहमहामन्त्रीमा दाबी गरेका छन् ।

मुक्ताकुमारी यादव : मधेसी महिला प्रतिनिधित्व

धनुषाकै अर्का उम्मेदवार हुन् मुक्ताकुमारी यादव । उनी कांग्रेसमा मधेशी महिला नेतृत्वको रुपमा परिचित छिन् । १४औँ महाधिवेशनबाट मधेशी महिला कोटामा केन्द्रीय सदस्य बनेकी उनी पछिल्लो विशेष महाधिवेशनबाट मधेशी क्लस्टरतर्फ सहमहामन्त्री निर्वाचित भएकी थिइन् ।

मधेशी सहमहामन्त्रीका यी आठ उम्मेदवारलाई राजनीतिक यात्राका आधारमा हेर्दा कांग्रेसको मधेस राजनीतिमा पुस्तान्तरण र राजनीतिक धारको मिश्रण देखिन्छ । यसपटक कांग्रेसले सहमहामन्त्रीको संख्या बढाएर समावेशी क्लस्टरको प्रतिनिधित्व विस्तार गरेको छ ।

त्यसैले यो निर्वाचन केवल आठ नेताबीचको प्रतिस्पर्धा मात्र नभई कांग्रेसको मधेशमा पुरानो संगठनात्मक विरासत, मधेसी आन्दोलनको पृष्ठभूमि, महिला नेतृत्व, नयाँ पुस्ता र पार्टी प्रवेशमार्फत आएको नयाँ राजनीतिक शक्तिबीचको प्रतिस्पर्धाका रूपमा समेत हेरिएको छ । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Money Laundering Department Raids Homes of Former Chief Justice Rana and Associates
२०८३ असोज २१, बुधबार
संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै
२०८३ असोज २१, बुधबार
उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे
२०८३ असोज २१, बुधबार
दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता, ‘नुरी’ले १५ उपग्रह पठायो
२०८३ असोज २१, बुधबार
स्वास्थ्यमन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
२०८३ असोज २१, बुधबार