काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
थापाले मंगलबार साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
थापा गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । १५औँ महाधिवेशनमार्फत उनले पार्टीको नियमित कार्यकालका लागि पुनः सभापति पदमा उम्मेदवारी दिएका हुन् । यसअघि १४औँ महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भएका थिए ।
१५औँ महाधिवेशनअन्तर्गत मंगलबार राष्ट्रिय सभागृहमा कांग्रेसको केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी दर्ता भइरहेको छ । सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका आकांक्षीहरूले मनोनयन दर्ता गराइरहेका छन् ।
यसैबीच, निर्वाचन समितिले वर्षाका कारण उम्मेदवारी दर्ता स्थलसम्म पुग्न तथा आवश्यक प्रक्रिया पूरा गर्न केही आकांक्षीलाई कठिनाइ भएको हुनसक्ने भन्दै मनोनयन दर्ताको समय थप गरेको छ । समितिले उम्मेदवारी दर्ताको समय साँझ ७ बजेसम्म पुर्याएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया