असोज २०, २०८३ मंगलबार October 6, 2026

कांग्रेस महाधिवेशनमा धमाधम उम्मेदवारी दर्ता सुरु

प्रतिनिधि संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्या पनि बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता हुँदैछ । सात हजार १ सय १४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने भएका छन् ।

निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उम्मेदवारी दर्ता गरिरहेको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान १० बजेपछि उम्मेदवारका लागि मनोनयन दर्ता फारम वितरण शुरु गरिएको हो ।

महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । उम्मेदवारी दिनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारित गरिएको रकम बुझाएपछि फारम पाउनेछन् ।

त्यस्तै दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने भएको छ । काँग्रेसले केन्द्रीय कार्यसमितिको आकार १ सय ६७ बाट बढाएर २ सय ९७ सदस्यीय बनाएको छ । हिजो सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पु¥याएको छ ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । त्यसपछि उपसभापति संख्या चार पुगेको छ भने महामन्त्रीको संख्या तीन पु¥याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।

दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यकताका आधारमा सहप्रवक्ताको संख्या अझै थप हुने पार्टीले बताएको छ ।

यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १ सय ६७ सदस्यीय थियो भने पदाधिकारी संख्या १४ थियो ।

यसपटक प्रतिनिधि संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्या पनि बढाइएको काँग्रेसले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया