काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको संसदीय दलको बैठकमा आफ्ना सांसदहरूलाई पार्टीको पछिल्लो निर्णय र समसामयिक राजनीतिक अवस्थाबारे प्रशिक्षण दिएका छन्।
एमाले संसदीय दलको कार्यालय च्यासलमा बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णयलाई आधार बनाएर सांसदहरूलाई प्रशिक्षण तथा निर्देशन दिएका हुन्।
एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार बैठकमा अधिकांश सांसद सहभागी थिए। अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकका निर्णय, पार्टीको आगामी भूमिका तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे आफ्ना धारणा राखेका थिए।
बैठकमा ओलीले वर्तमान सरकारको कामकारबाहीको समेत समीक्षा गरेको महरले जानकारी दिए। उनका अनुसार ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार लोकतान्त्रिक मूल्य, संविधान र जनताको अधिकारको भावनाविपरीत अघि बढिरहेको आरोप लगाएका थिए।
ओलीले वर्तमान सरकारलाई ‘फाँसीवादी, स्वेच्छाचारी र तानाशाही बाटोमा’ अघि बढिरहेको भन्दै आलोचना गरेको महरले बताए। उनले पछिल्लो समय उदाएको नयाँ राजनीतिक शक्तिले समेत लोकतन्त्र र संविधानको भावनालाई आत्मसात् गर्न नसकेको धारणा बैठकमा राखेका थिए।
ओलीले सरकारले जनताका अधिकार कुण्ठित गर्ने काम गरिरहेको आरोप लगाउँदै त्यस विषयमा पार्टीका सांसदहरूलाई सचेत रहन निर्देशन दिएको बताइएको छ।
संसदीय दलको बैठकमा एमालेले आगामी दिनमा संसद् तथा राजनीतिक गतिविधिमा निर्वाह गर्ने भूमिकाबारे पनि छलफल गरेको थियो। अध्यक्ष ओलीले पार्टीका सांसदहरूलाई जनताका मुद्दा, संविधानको रक्षा तथा लोकतान्त्रिक मूल्यका विषयमा पार्टीको धारणा स्पष्ट रूपमा प्रस्तुत गर्न निर्देशन दिएको बताइएको छ।
बैठकमा सहभागी सांसदहरूले पार्टीको पछिल्लो राजनीतिक निर्णय र मुलुकको समसामयिक अवस्थाबारे अध्यक्ष ओलीसँग धारणा आदानप्रदान गरेका थिए। एमालेले सरकारका कामकारबाहीमाथि संसद् तथा राजनीतिक रूपमा निगरानी बढाउने संकेतसमेत बैठकमार्फत दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया