असोज १९, २०८३ सोमबार October 5, 2026

‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’

स्थानीय तहसँग समन्वय नगरी प्रदेशस्तरबाट योजना समावेश गर्दा कतिपय प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, १८ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीयताको कार्यान्वयनमा भएको कमजोर पक्षको सुधार गर्दै समृद्ध बागमती प्रदेश निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीयका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको बताउनुभएको छ ।

बागमतीको प्रदेश सुशासन केन्द्रले आज ललितपुरमा आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका १० वर्ष’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले प्रदेश र स्थानीय तहबीच पर्याप्त समन्वय नहुँदा प्रदेशबाट पठाइएका वित्तीय हस्तान्तरण तथा साना विकास योजनाको कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।

“स्थानीय तहसँग समन्वय नगरी प्रदेशस्तरबाट योजना समावेश गर्दा कतिपय प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्था छ । तीनै तहका जनप्रतिनिधि र सरकारबीच सहकार्य भएमा विकास निर्माणका योजना प्रभावकारी रूपमा सञ्चालन हुनेछन्, जसबाट बागमती प्रदेशका १३ वटै जिल्लाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्”, मुख्यमन्त्री थापामगरले भन्नुभयो ।

उहाँले बागमती प्रदेश सरकारले शिक्षा क्षेत्रमा शिक्षक क्षमता विकास, सूचना तथा सञ्चार प्रविधि (आइसिटी) कक्षा तथा आवश्यक उपकरणका लागि बजेट विनियोजन गर्दै आएको जानकारी दिनुभयो । प्रदेश सरकारले बागमती विश्वविद्यालय सञ्चालन गर्नुका साथै स्वास्थ्य क्षेत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सेवा तथा जनशक्ति विकासमा काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेशका विभिन्न कार्यक्रमले शिक्षा, स्वास्थ्य तथा समग्र आर्थिक गतिविधिमा योगदान पुर्‍याइरहेको बताउँदै मुख्यमन्त्री थापामगरले स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य र सङ्घीय सांसदबीच पनि निरन्तर समन्वय आवश्यक रहेको धारणा राख्नुभयो । सरकारले निर्माण गरेका ऐन, कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकले प्रत्यक्ष लाभ पाउने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईंले सङ्घीयता कार्यान्वयन र सवलीकरणमा प्रदेश सरकारले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै नागरिकमैत्री सेवा प्रवाहमा समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेकामा जोड दिनुभयो । सीमित स्रोतसाधनको बाबजुद पनि प्रदेश सरकारले सङ्घीयताको कार्यान्वयनका सन्दर्भमा कानुन निर्माण गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आएको जानकारी गराउँदै जिम्मेवारी पदमा रहेका सबैको सकारात्मक भूमिका रहनुपर्ने धारणा राख्नुभयो ।

उपप्रमुख चापागाईंले सङ्घीयताको कार्यान्वयन र नागरिकमैत्री कानुन निर्माणमा प्रदेशसभाबाट महत्त्वपूर्ण भूमिका निर्वाह भइरहेको जनाउँदै बागमती प्रदेशले सङ्घीयताको कार्यान्वयन र सवलीकरणमा सातै प्रदेशको अगुवा प्रदेशका रूपमा आफूलाई स्थापित गर्दै भइरहेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले संविधानको अनुसूचीमा लेखिएका अधिकारहरू कार्यान्वयन नभएसम्म सङ्घीयता सवलीकरण नहुने भन्दै सङ्घीयताको सफल कार्यान्वयनमा तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक पर्नेमा जोड दिनुभयो । सङ्घीयताको सन्दर्भमा पदमा हुँदा एउटा र पदमा नरहँदा अर्को व्याख्या गर्ने पद्धति राख्न नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले राज्यशक्तिको बाँडफाँडको सिद्धान्तलाई तीनै तहबीच कानुनी रूपमा हुनुपर्ने उहाँको भनाइ छ ।

सङ्घीयताविज्ञ एवं राष्ट्रियसभाका पूर्वसदस्य डा खिमलाल देवकोटाले सङ्घीयताको कार्यान्वयनसँगै सिंहदरबारको अधिकार नागरिकको घरदैलोमा पुगेको, प्रदेशिक र स्थानीय विकासको जग बसेको, स्रोत र साधनको समानुपातिक बाँडफाँड र सहभागितामूलक विकास र शान्ति कायम भएको उल्लेख गर्नुभयो । उहाँले तीन तहबीचको समन्वयमा शान्ति, सुशासन र विकासमा काम गर्दै सङ्घीयता सवलीकरणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले भौतिक पूर्वाधारको विकाससँगै नागरिकको आर्थिक, सामाजिक विकास पनि प्रभावकारी रूपले अगाडि बढाइनुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन कायम र पारदर्शिता प्रवर्द्धनका लागि जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्नुपर्ने, सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्दै जानुपर्ने र विकासलाई नागरिकले आत्मसात र अनुभूति गर्न सक्ने गरी अगाडि बढाइनुपर्नेमा जोड दिनुभयो । पहुँचका आधारमा भन्दा पनि नागरिक र समुदायको आवश्यकताका आधारमा विकासलाई अगाडि बढाइनुपर्ने उहाँको भनाइ छ ।

विदुर नगरपालिकाका उपप्रमुख प्रभा वोगटीले स्थानीय तहबाट संस्थागत विकासमा निरन्तर योगदान भइरहेको जानकारी गराउँदै नागरिकको सेवा प्रवाहमा सकारात्मक काम भएका बताउनुभयो । उहाँले विपद्मा प्रदेश सरकारले खेलेको भूमिका उल्लेखनीय र महत्त्वपूर्ण भएको बताउनुभयो ।

प्रदेश सचिव उमेशकुमार ढकालले प्रदेश स्थापनादेखि हालसम्म भएका उपलब्धि एवं चुनौती, सेवा प्रवाहमा भएका सुधार तथा संस्थागत विकास, स्थानीय तहसँगको समन्वयलगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियोे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना
२०८३ असोज १९, सोमबार
पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री महावीर पुन
२०८३ असोज १९, सोमबार
राष्ट्र बैंकद्धारा आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १९, सोमबार
आज सोमबार, कस्तो रहला तपाँईको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १९, सोमबार
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’
२०८३ असोज १८, आइतबार