असोज २१, २०८३ बुधबार October 7, 2026

पूर्वी जेरुसेलममा एकै पटक ६९ जना विस्थापित, सन् २००९ यताकै ठूलो घटना

आयातमा प्रतिबन्धित सामग्रीको अभावका कारण गाजामा ठोस फोहोर संकलन र व्यवस्थापनका लागि आवश्यक सवारी साधनसमेत सञ्चालन गर्न कठिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

संयुक्त राष्ट्रसंघ, असोज २१ गते । इजरायली अधिकारीहरूले पूर्वी जेरुसेलमको अत: तुर क्षेत्रमा रहेको एक आवासीय भवन भत्काउँदा एकै पटक ६९ जना विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका मानवीय मामिला हेर्ने अधिकारीहरूका अनुसार, सन् २००९ यता एउटै भवन भत्काउँदा यति ठूलो संख्यामा मानिस विस्थापित भएको यो पहिलो घटना हो ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, उक्त भवनमा बसोबास गर्ने ६९ जनामध्ये आधाभन्दा बढी बालबालिका थिए । ओसीएचए र साझेदार संस्थाका प्रतिनिधिले घटना स्थलको निरीक्षण गरेका थिए । प्रभावित परिवारले इजरायली सेनाले उनीहरूलाई आफ्ना सामान निकाल्न नदिएको र धेरै सामान भग्नावशेष मुनि पुरिएको बताएका छन् ।

साझेदार संस्थाले प्रभावित परिवारको तत्कालीन आवश्यकता मूल्यांकन गरी उनीहरूलाई घरभाडा सहयोग तथा अत्यावश्यक सामग्री उपलब्ध गराउने व्यवस्था गरेका छन् । साथै, उनीहरूलाई आपतकालीन आश्रय, आवश्यक सामग्री र मनोसामाजिक सहयोग पनि प्रदान गरिएको छ ।

ओसीएचएका अनुसार, यस वर्ष मात्रै इजरायली अधिकारीहरूले पश्चिम किनारामा एक हजार ८०० भन्दा बढी प्यालेस्टिनीका घर भत्काएका वा घरधनीलाई आफैँ घर भत्काउन बाध्य पारेका छन् । अधिकांश घर इजरायलबाट निर्माण अनुमति प्राप्त नभएको भन्दै भत्काइएको हो । प्रभावित क्षेत्रमा प्यालेस्टिनीलाई यस्तो अनुमति अत्यन्तै कम मात्र दिइने ओसीएचएले जनाएको छ ।

गाजामा खानेपानी संकट गहिरिँदै

यसैबिच, गाजामा पानी र सरसफाइ सम्बन्धी मानवीय सहायता पनि प्रभावित भएको ओसीएचएले जनाएको छ । आर्थिक स्रोतको अभाव तथा अत्यावश्यक सामग्रीको प्रवेशमा लगाइएको प्रतिबन्धका कारण पानी आपूर्ति प्रणाली सञ्चालनमा कठिनाइ भइरहेको छ । इन्जिन तेल, स्पेयर पाट्र्स तथा सवारीसाधन र मेसिन सञ्चालनका लागि आवश्यक उपकरण जस्ता सामग्री आयातमा प्रतिबन्ध रहेकाले दक्षिणी गाजाका दुई वटा समुद्री पानी प्रशोधन केन्द्रमा पानी उत्पादन घटेको छ ।

उपकरणको समयमै मर्मतसम्भार हुन नसक्दा देर अल–बालाह र खान युनिसमा रहेका करिब ५ लाख मानिसले पाउने पिउने पानीको मात्रा केही घटेको साझेदार संस्थाले बताएका छन् । गाजाभरि करिब चारमध्ये तीन परिवार पानीको पूर्वाधार पुनः स्थापित नभएसम्म ट्यांकरमार्फत वितरण गरिने पानीमा निर्भर छन् । मानवीय संस्थाले दैनिक करिब २५ हजार घनमिटर पिउने पानी वितरण गरिरहेका छन् । तर पानी वितरणमा प्रयोग हुने सवारीसाधनको नियमित मर्मत आवश्यक पर्ने र सुरक्षा अवस्थाका कारण विभिन्न क्षेत्रमा पहुँच अवरुद्ध हुने गरेकाले समस्या थपिएको छ ।

विशेष गरी तथाकथित ‘येलो लाइन’ आसपासका क्षेत्रमा पहुँच प्रभावित हुने गरेको ओसीएचएले जनाएको छ । सेप्टेम्बरको चौथो सातामा मात्रै मानवीय साझेदार संस्थाले ट्यांकरबाट वितरण गरिएको पानी संकलन गर्न सर्वसाधारणलाई सहयोग पुर्याउने उद्देश्यले १० लिटर क्षमताका १२ हजारभन्दा बढी पानीका कन्टेनर वितरण गरेका थिए ।

फोहोर व्यवस्थापनमा समेत चुनौती

आयातमा प्रतिबन्धित सामग्रीको अभावका कारण गाजामा ठोस फोहोर संकलन र व्यवस्थापनका लागि आवश्यक सवारी साधनसमेत सञ्चालन गर्न कठिन भएको छ । त्यसका कारण कतिपय क्षेत्रमा गधा तान्ने गाडा र संयुक्त राष्ट्रसंघका ट्रकको प्रयोग गर्नु परेको छ ।

ओसीएचएका अनुसार, प्रतिबन्धित सामग्रीको प्रवेशका लागि आवश्यक स्वीकृति उपलब्ध गराउनुका साथै गाजाका दुई वटा ल्यान्डफिल क्षेत्रमा पहुँच पुनः स्थापित गर्न आवश्यक छ । अन्यथा घना बस्ती भएका क्षेत्रमा फोहोर थप थुप्रिँदै जाने जोखिम छ । ओसीएचएले गाजामा मानवीय सहायता तथा अत्यावश्यक सेवा सञ्चालनका लागि निरन्तर इन्धन आपूर्तिका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम सूची सार्वजनिक
२०८३ असोज २१, बुधबार
पूर्वी जेरुसेलममा एकै पटक ६९ जना विस्थापित, सन् २००९ यताकै ठूलो घटना
२०८३ असोज २१, बुधबार
नेपाल-रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न
२०८३ असोज २१, बुधबार
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान काभ्रेपलाञ्चोकमा सुरु
२०८३ असोज २१, बुधबार
सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित
२०८३ असोज २१, बुधबार
प्रधान सेनापति सिग्देलद्वारा बेलायती उच्च सैनिक तथा सरकारी अधिकारीसँग भेटवार्ता
२०८३ असोज २१, बुधबार
स्क्रब टाइफस ७४ जिल्लामा फैलियो, १० हजारभन्दा बढी संक्रमित
२०८३ असोज २१, बुधबार