दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ। ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन यस आयोजनाका तीनवटै प्याकेजको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ अन्तर्गत दमौली-
भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको छ। आयोजना प्रमुख श्यामजी भण्डारीले यी तीनवटै प्याकेजको भौतिक प्रगति निकै उल्लेख्य रहेको बताए।
प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ। यो प्याकेजमा हालसम्म ६३ प्रतिशत भौतिक प्रगति भएको भण्डारीले जनाए। उनले भने कि मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, र दुईवटा डाइभर्सन सुरुङलगायतका संरचनाको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ।
आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि विसं २०८१ चैत ७ गते पहिलो कङ्क्रिट राखी कङ्क्रिटिङ कार्यको सुरुआत गरिएको थियो। गत भदौ महिनामा मात्रै ३३ हजार ६८१ घनमिटर कङ्क्रिट राखिएको जानकारी दिँदै भण्डारीले हालसम्म पाँच लाख सात हजार ४४२ घनमिटर कङ्क्रिटिङ सम्पन्न गरिएको बताए।
यसैगरी, प्याकेज २ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ। अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको उनले बताए। विद्युतगृह, केवल सुरुङ, सर्च ट्यांक र टेलरेसलगायतका संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएसँगै यस प्याकेजको भौतिक प्रगति ७९ प्रतिशत पुगेको भण्डारीले जनाए।
भण्डारीका अनुसार जलाशयको पानीलाई विद्युत्गृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट लाइनिङ कार्य पनि अन्तिम चरणमा पुगेको छ। कुल एक हजार ४१८.७५ मिटर कङ्क्रिट लाइनिङ गर्नुपर्नेमा हालसम्म एक हजार ४०७.७५ मिटर सम्पन्न भइसकेको उनले बताए।
अर्कोतर्फ, प्याकेज ३ अन्तर्गत केइसी इन्टरनेसनल लिमिटेड भारतले दमौली-भरतपुर २२० केभी क्षमताको ३३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ। यस प्रसारण लाइनमा पर्ने कुल ९४ वटा टावरमध्ये हालसम्म ८३ वटाको जग निर्माण सम्पन्न भइसकेको छ भने ८० वटा टावर खडा गरिसकिएको छ।
चितवन र तनहुँका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रूख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणको कामले थप गति लिएको आयोजना प्रमुख भण्डारीले बताए। उनका अनुसार यस प्याकेजको भौतिक प्रगति हालसम्म ८२ प्रतिशत पुगिसकेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया