काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले बिहीबार प्रसाईंलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो। आयोगमा उक्त पार्टी २२५ नम्बरमा दर्ता भएको हो ।
प्रसाईंले पार्टीको औपचारिक घोषणा आगामी मंसिर ७ गते गर्ने बताएका छन्। त्यसका लागि झापाको दमकमा घोषणासभा आयोजना गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन्। घोषणासभामार्फत पार्टीको औपचारिक परिचय सार्वजनिक गर्नुका साथै आगामी राजनीतिक गतिविधिबारे जानकारी दिने तयारी रहेको बताइएको छ।
नयाँ दल दर्तासँगै प्रसाईंले आफ्नै नेतृत्वमा राजनीतिक गतिविधि अघि बढाउने भएका छन्। यसअघि उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशम्शेर राणासँग सहकार्य गरेर नयाँ पार्टी खोल्ने बताएका थिए। तर, दुवैबीच सहमति हुन नसकेपछि उनीहरू अलग-अलग राजनीतिक दल गठन गर्ने बाटोमा अघि बढेका हुन्।
प्रसाईं र राणाबीच पार्टी गठनका विषयमा मतभेद भएपछि राणाले ‘जय नेपाल पार्टी’ दर्ता गराएका थिए। त्यसपछि प्रसाईंले पनि छुट्टै दलका रूपमा ‘नेपाल पथ पार्टी’ दर्ता गराएका हुन्।
नेपाल पथ पार्टीको दर्तासँगै प्रसाईं औपचारिक रूपमा नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीमा छन्। पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार र कार्यक्रमबारे भने मंसिर ७ गते हुने औपचारिक घोषणाबाट थप जानकारी आउने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया