काठमाडौँ, असोज २२ गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गर्दै सङ्गठन पुनर्संरचना, नयाँ पुस्ताको सहभागिता र नागरिकलाई राजनीतिक उपलब्धिको प्रत्यक्ष प्रतिफल दिने दिशामा अगाडि बढ्ने सङ्कल्प गरेको छ ।
महाधिवेशनको बन्दसत्र समापन समारोहलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले विगतमा रहेका गुट–उपगुट र विभिन्न समूह अब समाप्त भएको घोषणा गर्नुभयो । उहाँले अब कांग्रेसलाई एकढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “विगतमा अनेक नेताका नाममा गुट–उपगुट थिए, यी सबै गुट आजकै दिनदेखि सकिए । कुनै समूह नभई पार्टी अब एकढिक्का भएर अगाडि बढ्ने छ ।” सभापति थापाले कांग्रेसलाई आन्तरिक समूह व्यवस्थापनमा सीमित नराखी नीति, विचार र मुलुकका प्रमुख सवालमा समाज तथा जनताबिच बहस गर्ने पार्टीका रूपमा विकास गरिने बताउनुभयो ।
कांग्रेस एउटा परिवार जस्तै भएको उल्लेख गर्दै उहाँले पार्टीमा सबैको हैसियत बराबर हुने र जिम्मेवारी मात्र फरक हुने स्पष्ट पार्नुभयो ।
सभापति थापाले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव महाधिवेशनले सर्वसम्मतिले पारित गरेको छ । प्रस्तावमा लोकतन्त्र, शान्ति, गणतन्त्र र संविधान निर्माणबाट प्राप्त उपलब्धिको प्रतिफल नागरिकको जीवनमा पुर्याउने, राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई समयानुकूल पुनः परिभाषित गर्ने तथा कांग्रेसलाई निर्वाचन र सत्ताकेन्द्रित दलबाट परिणाममुखी राष्ट्रिय शक्तिका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिइएको छ ।
प्रस्तावले मुलुकको राजनीतिक यात्रालाई ‘राष्ट्रिय शक्तिको छैटौँ अध्याय’ का रूपमा अगाडि बढाउँदै गन्तव्य ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ तय गरेको छ । युवा विद्रोह तथा भदौ २३ र २४ गतेका घटनाको स्वतन्त्र छानबिन, निर्वाचनपूर्व गठबन्धन नगरी आफ्नै उम्मेदवार उठाउने, परिणाममुखी प्रतिपक्षको भूमिका निर्वाह गर्ने र सङ्गठनलाई योग्यतामा आधारित बनाउने विषय पनि प्रस्तावमा समेटिएका छन् ।
वडादेखि केन्द्रसम्म सङ्गठन तथा नेतृत्व छनोट प्रक्रिया सुधार गर्ने, सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने, नयाँ पुस्ता तथा विदेशस्थित नेपाली कांग्रेसका कार्यकर्तालाई सङ्गठनमा समेट्ने तथा पाँच पुस्ताबिच सहकार्य र राष्ट्रिय मेलमिलापलाई प्राथमिकता दिने निर्णय महाधिवेशनले गरेको छ ।
आगामी छ महिनालाई पार्टी निर्माण तथा सङ्गठन सुदृढीकरणमा केन्द्रित गर्ने कार्यदिशा पनि तय गरिएको छ । उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनबाट पार्टीमा एकता र सद्भावको भावना विकास हुने विश्वास व्यक्त गर्दै चुनावी प्रतिस्पर्धालाई व्यक्तिगत वैमनस्यमा परिणत गर्न नहुने बताउनुभयो । उहाँले प्रस्तुत गर्नुभएको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गरेको छ ।
कांग्रेस नेता भीष्मराज आङ्देम्बेले १५ औँ महाधिवेशन विगतभन्दा फरक र ऐतिहासिक भएको बताउनुभयो । नीति, सिद्धान्त र भावी कार्यदिशामाथि गम्भीर छलफल भएकाले यसले कांग्रेसको नीति र सोचमा परिवर्तन ल्याउने उहाँको भनाइ थियो ।
सभाले महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गर्नुभएको सङ्गठनात्मक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पनि महाधिवेशनले सर्वसम्मतिले पारित गरेको छ ।
आज मतदान
यसैबिच कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । मतदानमा सात हजार २५५ महाधिवेशन प्रतिनिधिले भाग लिने छन् ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा गरी सात मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगका अनुसार वरिष्ठ उपाध्यक्षमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेका कारण उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको छ । यद्यपि औपचारिक घोषणा भने बाँकी छ ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेश, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी तथा खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने छन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया