असार २३, २०८२ सोमबार July 7, 2025

‘यो ईपीजीले गर्न सकेन भने अर्को ईपीजी बनाइयोस्’ : ईपीजीका नेपाल संयोजक डा. भेषबहादुर थापा (अन्तवार्ता)

१९५० को सन्धिदेखि आजसम्म उठेका दुई देशका विवादित विषय सम्बोधन नगरिन्जेलसम्म सम्बन्धमा सुधार आउन गाह्रो छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अब ईपीजी कार्यदल र प्रतिवेदनको कुरै नगर्ने मुडमा हाम्रा प्रधानमन्त्री भारत भ्रमणबाट फिर्नुभएको छ । नेपाल पक्षको ईपीजी संयोजकका रूपमा यो स्थितिलाई कसरी लिनुभएको छ ?

वास्तविकता त्यो होइन (प्रधानमन्त्रीले जे भन्नुभयो) । १९५० को मैत्री सन्धिको मसी सुक्न नपाउँदै नेपाल–भारत सम्बन्धको कुरा विवादित रहँदै आएको छ । नेपाली जनताले त्यसलाई सहस्र रूपमा स्विकारेनन् । यसमा संशोधन या परिमार्जन हुनुपर्छ भन्ने कुरा जुनसुकै राजनीतिक व्यवस्था भए पनि एउटा एजेन्डाका रूपमा रहिरह्यो ।

दुई देशको सम्बन्धलाई लिएर विभिन्न समयमा भएका गतिविधि हेर्दा यो विवादित हुनुका साथसाथै पुनरावलोकन वा परिमार्जन गर्नैपर्छ भन्ने आवाज उठिरह्यो, जुनै दल वा जसको सरकार भए पनि । बी–बीचमा भारतीय पक्षले सकारात्मक संकेत नदेखाएको पनि होइन । म सम्झन्छु, भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्री (सन् १९६३–६५) नेपाल भ्रमणमा आएका थिए । त्यसबेला तत्कालीन राजा श्री ५ महेन्द्रसँग प्रधानमन्त्री शास्त्रीको सौहार्द वार्ताले अब दुई देशबीचको सम्बन्धले नयाँ आयाम समात्ने आस गरिएको थियो । शीर्षस्थबीचको बैठकपछि राजा महेन्द्रले बाहिर आएर भनेका थिए, ‘अब दुई देशको सम्बन्धमा एकरूपता आउला, सहमति बन्ला भन्ने आस लिएको छु ।’ तर, त्यसो हुन सकेन ।

त्यसपछि आईके गुजराल प्रधानमन्त्री (सन् १९९७–९८) छँदा उहाँले पनि द्विदेशीय सम्बन्धमा लचकता चाहेको स्पष्ट देखिन्थ्यो । सम्बन्धका कुरामा ‘गुजराल डक्ट्रिन’ ले राम्रो छाप छाडेको थियो । त्यो अध्याय पनि टुंगियो । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आएर संविधानसभालाई सम्बोधन गरेपछि हामीबीच उदारता र सामीप्य देखिएको थियो । त्यसले गर्दा दुई देशबीचका सम्पूर्ण कठिनाइ हट्ने र सकारात्मक माहोल बन्ने अपेक्षा थियो । त्यही परिप्रेक्ष्यमा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दुई देशका प्रधानमन्त्रीको सहमतिमा २०७२ माघमा ईपीजी गठन भएको थियो । अहिलेसम्म नेपाल–भारत समस्याका कुरामा मन्त्री, सचिव वा अन्य तहमा सुधार ल्याउने प्रयत्न भइरहेकै थियो, त्यसले अगाडि बढाउन सकेको थिएन । त्यसकारण दुई देशका स्वतन्त्र र विज्ञ समूहले ‘अब्जेक्टिभ आउटलुक’ राखेर समस्या समाधानको बाटो खोज्नका लागि ईपीजी सुरुवात भएको थियो ।

ईपीजीको काम र अबको अवस्थामा निराश हुनुभएको हो ?

प्रधानमन्त्री हुनुअघि मोदीजी नेपाली दूतावासमा हुने समारोहमा आइरहनुहुन्थ्यो । त्यसबेला मोदीले नेपालका बारेमा राख्ने दृष्टिकोण विशेष खालका हुन्थे । त्यही व्यक्ति पछि सत्तामा आएमा यसको केही अंश पारित होला र सम्बन्ध सहज रूपमा अघि बढ्ला भन्ने मैले व्यक्तिगत रूपमा लिएको थिएँ, त्यो अध्याय पनि खासै अघि बढेको देखिन । ईपीजी कार्यदलले दुई वर्ष लगाएर बनाएको प्रतिवेदन दुई देशका परराष्ट्र सचिव बसेर अध्ययन गर्लान् र समाधानको बाटो खोज्लान् भन्ने लागेको थियो, त्यो यसै बिलाएर गयो । अथवा, ईपीजीलाई सरकारी संयन्त्रमा होइन, निजी बौद्धिक समुदायलाई अध्ययनमा दिएर निष्पक्ष अवधारणा अघि बढाइएला भन्ने आशा–अपेक्षा थियो, त्यो पनि रहेन ।

दुई वर्षको समय लगाएर भारतका तर्फबाट भगतसिंह कोसियारी र नेपालबाट म संयोजक रहेर गम्भीरताका साथ प्रतिवेदन तयार भएको छ । यसलाई कार्यान्वयनमा ल्याउन सके नेपाल–भारत सम्बन्धका विमति हल हुन्छन् र सम्बन्ध नयाँ बाटोमा जान सक्छ । प्रतिवेदनमा विमति छैन, सहमति मात्रै छ । प्रतिवेदन बन्दा उठेका विमतिमा पनि सौहार्दपूर्ण समाधानको बाटो खोजियो । तर, भारतीय कूटनीतिक तहका व्यक्तिसँग कुरा गर्दा ईपीजी प्रतिवेदनलाई स्विकार्ने समयतालिका भारतले कहिल्यै अघि बढाएन । प्रतिवेदनका बारेमा हाम्रा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नयाँ शंका पैदा गरेको छ । अब ईपीजीबारेमा उच्चारण गर्दा मात्रै पनि सम्बन्धको वातावरण खल्बलिन्छ भन्ने भनाइले थप समस्या उब्जाएको छ ।

यसबीच ईपीजीमा भारतीय संयोजक भगतसिंह कोसियारीले ‘अब ईपीजीको साटो नयाँ उपायबाट नेपाल–भारत सम्बन्धको आयाम पहिल्याऔं, ईपीजी भुलौं’ भन्ने सारमा मन्तव्य राख्नुभएको रहेछ । तपार्ईं के भन्नुहुन्छ ?

यो प्रतिवेदनले उठाएको गम्भीरता र सान्दर्भिकता त हटेर जाँदैन नै । प्रतिवेदन पेस नहुनेबित्तिकै समस्या समाधान हुने कुरै होइन । तर, एउटा प्रक्रिया त सुरु हुन्थ्यो नि प्रतिवेदन बुझिएको भए । प्रतिवेदनको उद्देश्य र निष्कर्ष सान्दर्भिक छन् । कोसियारीले जुन संलग्नता र उत्साह देखाएर काम गर्नुभएको थियो, त्यसलाई स्मरण गर्दा उहाँले पनि हरेस खाएको हो कि भन्ने देखिन्छ । यत्ति हो, हाम्रो धैर्यको बाँध टुटेको छैन । तर, यो बाँध कहिलेसम्म यसरी रहने भन्ने आशंका थपिएको छ । ईपीजीलाई लिएर अहिले देखापरेको गतिविधिलाई हेर्दै अब कार्यदलका साथीभाइसँग सल्लाह गरेर कसरी अघि बढ्ने निधोमा पुग्नेछौं । सरकारी संयन्त्रलाई कुन रूपमा ब्युँताउने हो वा यसलाई अन्त्य गर्ने हो भन्ने निर्क्योलमा हामी पुग्नेछौं ।

तपाईंले त्यस्तो के कठिनाइ वा सुझाव/सिफारिसका बुँदा देख्नुभयो, जसका कारण यो प्रतिवेदन स्वीकार गर्नै नसकिने अवस्था आएको हो ?

यो कठिन प्रश्न हो । जुन विषयमा हामी प्रवेश गर्‍यौं, जुन उद्देश्य राखेर यसलाई अघि बढायौं, यसबीच दुई देशको सम्बन्धलाई लिएर बी–बीचमा उठेका विवादित सबैजसो विषयहरू (सीमा, सन्धि, पानी आदि) प्रतिवेदनमा आएको छ । विमति केमा थियो भन्ने थाहा हुन सकेको छैन । त्यो कार्यदलमा भारतीय वा नेपाली पक्ष भन्ने थिएन, ८ जनाको एउटै समूह थियो । तर, के समस्याले गर्दा उहाँहरू हिचकिचाउनुभयो भन्ने अड्कल गर्न गाह्रो छ । हामी सरिक भएर कुनै झूट कुरा गरेको छैन । प्रतिवेदनलाई यसरी ढिलाइ गर्दैमा मरेर जाँदैन, औचित्य रहिरहन्छ । १९५० को सन्धिदेखि आजसम्म उठेका दुई देशका विवादित विषय सम्बोधन नगरिन्जेलसम्म सम्बन्धमा सुधार आउन गाह्रो छ, यो निश्चित कुरा हो ।

अनन्त समस्या यथावतै राखेर र समस्याको बुँदा हस्तान्तरण मात्रै गरेर हाम्रा प्रधानमन्त्री उत्साहित भएर फर्कनुभएको छ । समस्या थाती राखेर मात्रै सम्बन्ध सहज र समधुर हुन सक्ला र ?

यसलाई नेपाली जनताले कसरी हेर्छन् भन्ने मुख्य कुरा हो । केही कुरामा भएको प्रगतिलाई हेर्ने हो भने यो पहिलेदेखि चलिआएको विषय हो, नयाँ होइन । त्यही पुरानै विषयले पनि पूर्णता पाएको कुरा राम्रो हो । मूल कुरा एउटा देशले अर्को देशलाई गर्ने (देखाउने) व्यवहारमा सुधार ल्याउन आपसमा विमति भएका विषयलाई सम्बोधन गर्नैपर्ने हुन्छ । ठीक छ, यो ईपीजीले गर्न सकेन भने अर्को ईपीजीले गरोस् न त । भारत स्वतन्त्र भएयता कति समस्या हामीले कहिले सचिवको तहमा, कति मन्त्रीको तहमा सम्बोधन गर्न प्रयास गरेकै हौं, तर पार लगाउन नसकेको यथार्थ त हो नै । सम्बन्ध सुधारको कुरामा यतापट्टि ध्यान नराखिन्जेल सम्बन्ध यथास्थितिमै रहिरहन्छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार