काठमाण्डाैंः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वराज्यमन्त्री दूर्योधनसिंह थारु चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वराज्यमन्त्री चौधरीको आज बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा ७० वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । स्व. चौधरीले काँग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताएका छन् ।
स्व चौधरी २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५६ मा संसद्मा निर्वाचनपछि चौधरी स्थानीय विकास राज्यमन्त्री बनेका थिए । स्व. चौधरीले विसं २०२८ मा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेको काँग्रेसले विज्ञप्तीमा जनाएको छ । पार्टीका विभिन्न पदमा रहेर स्व चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका दुई श्रीमती, तीन छोरा र एक छोरी छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया