काठमाण्डौँः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले भारतीय अतिक्रमणमा परेको लम्पियाधुरा, कालापानी र लिपेलुकलाई समेटेर जारी गरिएको नक्सालाई संविधानको अंग बनाउने गरी निशान छापमा समावेश गर्न सरकारले ल्याएको संशोधनको पक्षमा उभिने निर्णय गरेको हो ।
सरकारले अतिक्रमित नेपाली भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेलगत्तै निशान छाप परिवर्तनका लागि गत शुक्रबार संविधान संशोधनको प्रस्ताव दर्ता गराएको थियो ।
काँग्रेस संशोधनको पक्षमा उभिएपछि सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव दुइतिहाइ बहुमतका साथ पारित हुने पक्का भएको छ । योसँगै भारतले बषौंदेखि अतिक्रमण गरेको कालीपानी क्षेत्रको नेपाली भूभाग अब संवैधानिक रुपमा नेपालको भूभाग भित्र समेटिने भएको छ ।
संविधान संशोधन प्रस्तावको बिषयमा औपचारिक निर्णय गर्नका लागि पदाधिकारी बैठकले पार्टी केन्द्रीय समिति बैठक बोलाउने पनि निर्णय गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया