काठमाडौंः नेपाली काँग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न पार्टीका सांसदलाइ निर्देशन दिने निर्णय गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
कालापानी, लिपुलेक र लिम्पियाधुराको भू-भाग समावेश गरी सरकारले नक्सा सार्वजनिक गरेपछि संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्तावमा छलफल र निर्णय भएको बैठक पश्चात पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा लिपुलेकसहित अन्य अतिक्रमित भू-भागहरु फिर्ता गर्न भारतसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल अविलम्ब सुरु गर्दै सार्थक र परिणाममुखी वार्ता गर्न सरकारलाई प्रस्ताव गर्ने विषयमा छलफल भएको थियो । यस्तै, रुकुम घटनालाई ढाकछोप गर्ने कार्य भइरहेको भन्दै काँग्रसले सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न संसदीय छानबिन समिति बनाउन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभामा काँग्रेसका ६३ सांसद रहेका छन्।
सरकारको अकर्मन्यता र अयोग्यताका कारण कोरोना संक्रमणबाट छजनाले ज्यान गुमाइसकेको र हजारभन्दा बढी व्यक्ति संक्रमित भएको भन्दै बैठकमा सरकारको आलोचना भएको छ ।
यस्तै, बैठकले कोरोनाविरुद्धको राहत व्यवस्थापनमा स्थानीय सरकारलाई तत्कालन रकम विनियोजन गर्न, परीक्षण दर बढाएर स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्थापन गर्न, विदेशबाट नागरिकहरुलाई तत्काल उद्धार गर्न सरकारसित माग गरेको छ । ‘क्वारेन्टाइन’को मापदन्ड, ‘आइसोलेसन वार्ड’को संख्या वृद्धिलगायतका विषयमा तत्कालन ध्यान पुर्याउन पनि सरकारसँग माग गरिएको छ ।
संविधान संशोधनको पक्षमा उभिने यसअघि पदाधिकारी बैठककै बेला संकेत गरे पनि कांग्रेसले केन्द्रीय कार्यसमितिबाट संस्थागत निर्णय गर्ने बताउँदै आएको थियो। सरकारले अद्यावधिक नक्सासहित निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया