काठमाडौंः प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले चिनियाँ राजदूत छन सङलाई स्पष्टीकरण सोध्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।
राजदूत सङले नेपाल–भारत व्यापारका विषयमा दिएको अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गरेर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई समिति सभापति राजकिशोर यादवले निर्देशन दिएका हुन्। बिहीबार बसेको समितिको बैठकमा यसै विषयमा जानकारी लिन परराष्ट्रमन्त्री एनपी साउदलाई बैठकमा बोलाइएको थियो।
बैठकमा समितिका अधिकांश सदस्यले चिनियाँ राजदूत छनको अभिव्यक्तिको विरोध गर्दै सचेत गराउनु पर्ने धारणा राखेपछि अन्तिममा समिति सभापति यादवले यस विषयमा परराष्ट्र मन्त्रालयले राजदूतसँग सोधपुछ गरेर सचेत गराउन निर्देशन दिएका हुन्।
समिति बैठकमा परराष्ट्रमन्त्री साउदले आफू काठमाडौँ बाहिर रहेकाले यस विषयमा पर्याप्त जानकारी नभएको जवाफ दिएका थिए।
चिनियाँ राजदूत छेनले गत शनिबार फाउन्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिज नामक संस्थाले शनिबार काठमाडौँमा आयोजना गरेको ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा भारत र नेपालको व्यापार सम्बन्धमाथि नकरात्मक टिप्पणी गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया