काठमाण्डाैंः दैलेखमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि दैलेखको दुई नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।
समुदाय स्तरमा कोरोना महामारी फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । निषेधाज्ञाको समयमा घरबाट बाहिर निस्केमा कारबाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।
भारतबाट फर्किनेको संख्या बढेसँगै दैलेखका नारायण र दुल्लु नगरपालिकामा कोरोना संक्रमितको संख्या अत्याधिक बढेको छ । नारायण नगरपालिकामा बिहीबार मात्र एक सय ८ जनामा कोरोना संक्रमण देखिएको थियो ।
दैलेखमा हालसम्म २१८ जनामा कोरोना संक्रमण फैलिइसकेको छ भने संक्रमित १ जनाको मृत्यु भइसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया