असोज १३, २०८० शनिबार September 30, 2023

एशिया कप सुपर फोरको अन्तिम प्रतिस्पर्धामा बंगलादेशसँग भारत पराजित

बंगलादेशले भारतलाई छ रनले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एशिया कप–२०२३ मा सुपर फोरको अन्तिम प्रतिस्पर्धामा बंगलादेशले भारतलाई छ रनले हराएको छ ।

शुक्रवार अबेर राति कोलम्बोको आर.प्रेमदासा स्टेडियममा सम्पन्न यो प्रतिस्पर्धामा बंगलादेशले भारतलाई जीतका लागि २६६ रनको लक्ष्य दिएको थियो । यो लक्ष्यलाई पछ्याउने क्रममा भारतीय टीमले २५९ रनमात्र जोड्न सफल भयो ।

भारतीय टीमको तर्फबाट ओपनर शुभमन गिलले १३३ बलमा १२१ रन बनाए, जसमा आठ चौका तथा पाँच छक्का समावेश छन् । गिलको वडने करियरको यो पाँचौं शतक हो । गिलबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् ।

फलस्वरुप भारतीय टीमले हार व्यहोर्न पुग्यो । अन्तिमका ओभरहरुमा अक्षर पटेल (४२ रन) ले केही ठूला शट नलगाएका होइनन्, तर ४९ औं ओभरमा मुस्तफिजुर रहमानले उनको आकर्षक इनिङलाई समाप्त पारे ।

खेलको अन्तिम ओभरमा भारतले जीतका लागि १२ रन बनाउनु पर्ने थियो । तन्जिद हसन शाकिबको पहिलो तीन बलमा मोहम्मद शमीले रन बनाउन सकेनन् । चौथो बलमा उनले चौका प्रहार गरे । अब दुई बलमा आठ रन बनाउन पर्ने थियो । यहाँबाट शमीले दुई ठूला शट प्रहार गर्दै खेललाई भारतीय टीमतर्फ झुकाउने सम्भावना थियो, तर दोस्रो रन लिने चक्करमा उनी रनआउट भए । बंगलादेशको तर्फबाट मुस्तफिजुर रहमानले तीन विकेट लिए भने तन्जिम हसन शाकिब तथा मेहनी हसनले समान दुई विकेट लिए ।

एशिया कप २०२३ को उपाधि दौडमा यो खेलको नतिजाले कुनै महत्व राख्दैन । भारत यसअघि नै आइतवार हुने फाइनलका लागि छनोट भैसकेको छ, जसमा उसको सामना श्रीलंकासंग हुँदैछ ।
अर्कोतिर, बंगलादेशको टीम यसअघि नै एशिया कपबाट बाहिरिसकेको छ । यसै कारण शुक्रवारको खेलमा भारतीय टीमका विराट कोहली, हार्दिक पाण्ड्या, मोहम्मद सिराज, जसप्रीत बुमराह तथा कुलदीप यादवलाई आराम दिइएको थियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्दै बंगलादेशले २६५ रन बनायो । ५९ रनको स्कोरमै चार विकेट गुमाएको बंगलादेशलाई शाकिब अल हसन तथा तौहीद हृदोयको साझेदारीले सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो । उनीहरुले पाँचौं विकेटका लागि १०१ रनको साझेदारी गरे । शार्दुल ठाकुरले शाकिबको विकेट लिए भने मोहम्मद शमीले तौहीदलाई आउट गरे । शाकिबले ८५ बलमा ८० रन बनाए भने तौहीदले ५४ रन बनाए । नासुमले ४५ बलमा ४४ रनको योगदान दिए ।

भारतीय टीमको तर्फबाट मोहम्मद शमीले दुई तथा शार्दुल ठाकुरले तीन विकेट लिए । प्रसिद्ध कृष्णा, अक्षर पटेल तथा रवीन्द्र जडेजाले समान एक विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया