नयाँदिल्ली । भारतले १०औँ पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको उपाधि जितेको छ । मंगलबार राती ढाकास्थित नेसनल स्टेडियममा भएको फाइनलमा पाकिस्तानलाई २-१ गोलले पराजित गर्दै भारतले दशौँ उपाधि जितेको हो । भारतले खेलको अन्तिम दुई मिनेट बाँकी छँदा निर्णायक गोल गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । पहिलो हाफमा १-० ले पछि परेको भारतले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो ।
खेलको पहिलो हाफमा पाकिस्तानले भारतमाथि दबाब बनाएको थियो । दुवै विंगबाट आक्रमण गरेको पाकिस्तानले १८औँ मिनेटमा गोल गर्ने अवसर पाएको थियो । तर, म्याकेल अब्दुल्लाको प्रहार भारतीय गोलरक्षक अर्श शेखले विफल पारिदिनुभयो । पहिलो हाफको इन्जुरी समयमा पाकिस्तानले अग्रता लियो । जुनैद शाहले दिएको लो क्रसलाई भारतीय रक्षापंक्तिले राम्रोसँग क्लियर गर्न सकेन । त्यसपछि प्राप्त बललाई अलमगीर अली खान घाजीले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट कर्लिङ प्रहार गर्दै जाली चुमाउनुभयो । पहिलो हाफ सकिँदा पाकिस्तान १-० ले अघि थियो । दोस्रो हाफमा भारतले म्याकार्टन निक्सनलाई मैदान प्रवेश गराउँदै आक्रमणलाई तीव्रता दिएको थियो । उहाँले म्याङ्गलेन्थाङ किपगेनको स्थान लिनुभएको थियो ।
खेलको ५९औँ मिनेटमा पाकिस्तान १० खेलाडीमा सीमित भयो । जुनैद शाहले ब्रिसन फर्नान्डिसको घुँडानजिकै स्टड्सले खतरनाक ट्याकल गरेपछि रेफ्रीले भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा उहाँलाई सिधै रातो कार्ड देखाएका थिए । एक खेलाडी कम भएपछि भारतले त्यसको फाइदा उठायो । ६०औँ मिनेटमा लुङडिमले दायाँतर्फबाट दिएको क्रस म्याकार्टन निक्सनलाई छोएर सुहैल अहमद भटसम्म पुगेको थियो । भटले कुनै गल्ती नगरी बललाई पोस्टको दिशा दिएपछि भारतले खेल १-१ को बराबरीमा ल्यायो ।
बराबरीपछि भारतले लगातार आक्रमण गरिरह्यो । ६७औँ मिनेटमा निखिल प्रभुको पासमा विष्णुलाई गोल गर्ने राम्रो अवसर मिलेको थियो । तर, उहाँ चिप्लिएपछि उहाँको प्रहार सिधै पाकिस्तानी गोलरक्षकको हातमा पुगेको थियो । खेल बराबरीतर्फ अघि बढिरहेका बेला ८८औँ मिनेटमा भारतले निर्णायक गोल गर्यो । अब्दुल रबीहले प्रहार गरेको कर्नरमा सन्दीप माण्डीले उत्कृष्ट हेडर गर्नुभयो । उहाँको प्रहार जमिनमा ठोक्किँदै गोल पोस्टभित्र छिरेपछि भारतले २-१ को अग्रता बनायो । बाँकी समयमा पाकिस्तानले बराबरी गोल फर्काउन सकेन ।
जितसँगै भारतले लगातार तेस्रोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । यसअघि भारतले सन् २०२१ र २०२३ मा पनि उपाधि जितेको थियो । प्रतियोगिताको इतिहासमा लगातार तीन संस्करण उपाधि जित्ने भारत पहिलो टोली बनेको छ । पाकिस्तान भने पहिलोपटक फाइनलमा पुगेको थियो । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया