काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लुम्बिनी लायन्ससामु १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०५ रन बनाएको हो।
सुदूरपश्चिमको सुरुवात भने निकै खराब रह्यो। पहिलो खेल खेलिरहेका जर्ज मन्से पहिलो बलमै आउट भए। अर्का खेलाडी तानुका दबारे तेस्रो ओभरमा रुबेन ट्रम्पलम्यानको बलमा विकेटकिपर निरोशन डिकवेलाबाट क्याचआउट भए। त्यसपछि अभिशेष गौतमले विनोद भण्डारीलाई डिकवेलाबाटै क्याचआउट गराएपछि सुदूरपश्चिम ३.१ ओभरमा ८ रनमा तीन विकेट गुमाएको अवस्थामा पुगेको थियो।
त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाले। इशानले ३३ बलमा तीन चौकासहित २७ रन बनाए।
इशान १५औँ ओभरको पहिलो बलमा रनआउट भएपछि सुदूरपश्चिमले चौथो विकेट गुमायो। त्यसपछि थरिन्दु रत्नायके १६औँ ओभरको पहिलो बलमै शेर मल्लको बलमा बोल्ड भए। आरिफ शेख ६ बलमा चार रन बनाएर डार्सी सर्टबाट क्याचआउट भए।
एक छेउ सम्हालिरहेका कप्तान दीपेन्द्र पनि अन्तिम ओभरको दोस्रो बलमा किशोर महतोको बलमा डार्सी सर्टबाट क्याचआउट भए। उनले अर्धशतक पूरा गर्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याए। स्कट कुगेलेइन सात रन बनाएर अन्तिम बलमा रनआउट भए भने अनिल खरेल दुई रनमा अविजित रहे।
लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए। शेर मल्लले पनि दुई विकेट लिए भने किशोर महतो र अभिशेष गौतमले एक–एक विकेट लिए। सुदूरपश्चिमका दुई खेलाडी रनआउट भएका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया