काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले एनपीएल इतिहासकै उच्च स्कोर बनाउँदै काठमाडौं गोर्खाजमाथि ५५ रनको शानदार जित हात पारेको छ।
कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रामक ब्याटिङ तथा दिनेश खरेलको उत्कृष्ट बलिङ मद्दतमा पोखराले लिग चरणको आफ्नो अन्तिम खेलमा सानदार जित निकालेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रनको विशाल योगफल तयार गरेको थियो। यो एनपीएलको इतिहासमै हालसम्मकै उच्च स्कोर हो।
यसअघि विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको रेकर्ड थियो। यससँगै पोखरा एनपीएलमा एकै सिजन दुई पटक २०० भन्दा बढी रन बनाउने पहिलो टोली बनेको छ।
पोखराका लागि कुशल भुर्तेल शतक बनाउनबाट मात्र १ रनले चुक्दा उनले ५१ बलमा ८ चौका र ८ छक्काको मद्दतमा सर्वाधिक ९९ रन बनाए। त्यस्तै, अर्का ओपनर युवराज सिंह सम्राले ५५ बल खेल्दै ८ चौका र ५ छक्कासहित ८९ रनको उत्कृष्ट योगदान दिए।
तेस्रो ओभरमा अर्जुन कुमाल ५ रन बनाएर आउट भएपछि क्रिज सम्हालेका कुशल र युवराजले दोस्रो विकेटका लागि एनपीएलकै कीर्तिमानी १८६ रनको साझेदारी गरेका थिए। कप्तान चमिका करुणारत्नेले नटआउट १९ र धनन्जय लक्षणले २ रन बनाए। काठमाडौंका तर्फबाट कप्तान करण केसीले दुई र जहानदाद खानले एक विकेट लिए।
पोखराले प्रस्तुत गरेको २२५ रनको उच्च लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले १९ ओभरमा सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो। काठमाडौंका लागि ओपनर स्मित पटेलले ३४, रासिद खानले ३१, विलियम बोसिस्टोले २६ र जहानदाद खानले २४ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।
बलिङतर्फ पोखराका दिनेश खरेलले ४ ओभरमा १८ रन मात्र खर्चिएर ४ विकेट लिए। यस्तै, विपिन खत्रीले ३ तथा रमेश मेन्डिस, सन्नी विक र युवराज सम्राले एक–एक विकेट हात पारे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया