बैतडी । सुदूरपश्चिम प्रदेशको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बैतडीको प्रसिद्ध रौलाकेदार धाममा दर्शन तथा पूजाआजाका लागि पुग्ने भक्तजनको घुइँचो लागेको छ ।
धार्मिक आस्था र विश्वासका साथ जिल्लाभित्रका साथै छिमेकी जिल्ला तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत श्रद्धालुहरू धाममा पुगेका छन् ।
सुर्नया गाउँपालिका–५ स्थित मडगाउँको भण्डार घरबाट कार्तिक शुक्ल सप्तमीका दिन रौलाकेदारको ‘देउरो’ धाममा लगिएसँगै जात्रा सुरु भएको हो । सप्तमीदेखि सुरु भएको जात्रा आज अष्टमीका दिन विशेष पूजाआजा तथा वैदिक विधिअनुसार सम्पन्न हुने मन्दिरका मूल पुजारी विष्णुदत्त भट्टले जानकारी दिनुभयो ।
कार्तिक शुक्ल अष्टमीका दिन धाममा पूजाआजा गरेपछि साँझ देउरो पुनः भण्डार घरमा फर्काउने परम्परा छ । रौलाकेदारको पूजाआजापछि नजिकै रहेको मानाकोट भगवतीको समेत पूजा गर्ने चलन रहेको स्थानीय हरिलाल पन्तले बताउनुभयो ।
समुद्री सतहबाट करिब दुई हजार नौ सय मिटरभन्दा बढी उचाइमा अवस्थित रौलाकेदार धामको धार्मिक महिमा स्कन्द पुराणको मानसखण्डमा समेत वर्णन गरिएको पाइन्छ । स्थानीय पन्तका अनुसार प्राचीन कालमा बाइसे–चौबिसे राज्यका राजाहरूले युद्धमा विजय प्राप्त गर्न र राज्यमा शान्ति स्थापनाका लागि रौलाकेदारको भाकल तथा पूजाआजा गर्ने गरेको ऐतिहासिक मान्यता छ ।
नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले भगवान् शिवका १२ ज्योतिर्लिङ्गमध्ये केदारनाथ ज्योतिर्लिङ्ग रौलाकेदार नै भएको बताउनुभएको छ । पौराणिक रावलाद्री पर्वतमा अवस्थित रौलाकेदार धाम नै वास्तविक केदारनाथ ज्योतिर्लिङ्ग भएको उहाँको दाबी छ ।
रौलाकेदारको श्रद्धापूर्वक दर्शन गरी भाकल गरेमा निःसन्तान दम्पतीलाई सन्तान प्राप्त हुने, रोकिएका काम बन्ने तथा रोगव्याधि नाश हुने धार्मिक जनविश्वास रहिआएको छ । यही विश्वासका कारण पछिल्लो समय धाममा आउने आन्तरिक तथा सीमावर्ती क्षेत्रका दर्शनार्थीको सङ्ख्या बढ्दै गएको स्थानीयले बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया