नारायणगढ (चितवन)। हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरस्थित गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) पुगेर सम्पन्न भएको छ ।
मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य) को सत्सङ्कल्पमा सञ्चालित उक्त रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर त्रिवेणीधाममा आइपुगेको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए ।
यात्राका क्रममा विभिन्न स्थानको भ्रमण गर्नुका साथै मेची र महाकालीको जलसमेत सङ्कलन गरिएको र उक्त जल गण्डकीमा अर्पण गरिने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिए। रथयात्राको स्वागत तथा दर्शनका लागि विभिन्न स्थानमा स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।
रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु हुने भएको छ । महायज्ञको पहिलो दिन बिहान ८ः०० बजे गौशालामा सामूहिक गौपूजा, ९ः०० बजे गण्डकी पूजन र १०ः०० बजे बाजागाजा तथा भजनकीर्तनसहित कलश यात्रा निकालिने प्रवक्ता प्रपन्नाचार्यले बताए।
कलश यात्रा गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी यज्ञस्थलमा पुग्नेछ। त्यसपछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक सङ्कल्प, कन्या पूजा तथा दीप प्रज्वलन गरिनेछ। बिहान ११ः३५ बजे दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन हुने कार्यक्रम तय गरिएको छ।
मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यले एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा श्रीमद्भागवत प्रवचनलगायत विविध धार्मिक अनुष्ठान सञ्चालन हुने बताए।
प्राकृतिक विपत्ति, सडक दुर्घटना, विभिन्न आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा महामारीलगायतका कारणले दिवङ्गत भएका आत्माहरूको उद्धार र शान्तिका लागि पितृमुक्ति महायज्ञ आयोजना गरिएको उनको भनाइ छ। उनले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप तथा ध्यान गर्न सम्पूर्ण भक्तजनमा अनुरोध गरेका छन्। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया