मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

२०२७ विश्वकप छनोटको ढाँचा फेरियो, नेपालमा हुने प्लेअफबाट चार टोली छानिने

विश्वकप छनोटमा नयाँ व्यवस्था लागू, ३४ खेल घटाएर २३ मा सीमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्रतियोगिताको खेल संरचनामा परिवर्तन गरेको छ । आइसिसीले यसअघिका संस्करणमा प्रचलनमा रहेको सुपर सिक्स चरण हटाउँदै नयाँ प्रतिस्पर्धात्मक ढाँचा सार्वजनिक गरेको हो ।

नयाँ व्यवस्थाअनुसार आगामी वर्ष फेब्रुअरी-मार्चमा हुने छनोट प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणका खेलपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि फाइनल खेल हुनेछ ।

यसअघि समूह चरणपछि सुपर सिक्स चरण सञ्चालन हुँदै आएको थियो । पुरानो संरचनाअनुसार प्रतियोगितामा कुल ३४ खेल हुने गरेकामा नयाँ ढाँचामा खेल संख्या घटाएर २३ मा सीमित गरिएको छ । आइसिसीले इण्डोनेसियाको बालीमा सम्पन्न बैठकपछि प्रतियोगिताको नयाँ संरचना सार्वजनिक गरेको हो ।

छनोट प्रतियोगिताका लागि हालसम्म वेष्ट इण्डिज, आयरल्याण्ड, अमेरिका, नेदरल्याण्ड्स, स्कटल्याण्ड र ओमानले स्थान पक्का गरिसकेका छन् । बाँकी चार टोलीको टुंगो नेपालमा आयोजना हुने छनोट प्लेअफ प्रतियोगिताबाट लाग्नेछ ।

नयाँ छनोट संरचनाअनुसार प्रतियोगिताको विजेता टोलीले १४ टोली सहभागी हुने सन् २०२७ को एकदिवसीय विश्वकपमा सिधा स्थान बनाउनेछ । दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले भने विश्वकप प्रवेशका लागि सुपर सिरिजको पहिलो चरण खेल्नुपर्नेछ ।

यसैबीच, आइसिसीले सन् २०२८ मा आयोजना हुने पुरुष तथा महिला टी-२० विश्वकपको छनोट प्रक्रिया पनि सार्वजनिक गरेको छ । पुरुषतर्फ १६ टोलीबीच प्रतिस्पर्धा हुने र त्यसमध्ये आठ टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

महिलातर्फ भने १० टोलीले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् । बाँकी दुई स्थानका लागि १० टोलीबीच विश्वव्यापी छनोट प्रतियोगिता सञ्चालन गरिने आइसिसीले जनाएको छ ।

आइसिसीको नयाँ निर्णयले विश्वकप छनोट प्रतियोगितालाई छोटो, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ । साथै, नेपालमा आयोजना हुने प्लेअफ प्रतियोगिता पनि सन् २०२७ को विश्वकप यात्राका लागि महत्त्वपूर्ण बन्ने देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया