मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

यमनमा हुथी विद्रोहीद्वारा ६०० बन्दी रिहा, मिसाइल आक्रमणमा १७ जनाको मृत्यु

यमनमा द्वन्द्व चर्किंदै, हुथीद्वारा ६०० बन्दी रिहा गर्दा मिसाइल आक्रमणमा मानवीय क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । यमनको हुथी विद्रोही समूहले द्वन्द्वसँग सम्बन्धित ६०० जना बन्दीलाई एकपक्षीय रूपमा रिहा गरेको छ । यसैबीच, दक्षिणी प्रान्त लहजमा युद्धबाट भागिरहेका परिवार सवार सवारीसाधनलाई लक्षित गरी मिसाइल आक्रमण हुँदा कम्तीमा १७ जना हताहत भएका छन् ।

हुथी समूहले आइतबार राजधानी सानामा अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को सहयोगमा बन्दी रिहा गरेको घोषणा गरेको हो । अर्कोतर्फ, सरकारी सैन्य स्रोतका अनुसार हुथी विद्रोहीले प्रहार गरेको मिसाइल परिवारसहितका सवारीसाधनमा खसेको थियो । आक्रमणमा मृत्यु हुने र घाइते हुनेको यकिन संख्या भने खुल्न सकेको छैन ।

सरकारी सैन्य स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार एडेनबाट करिव ९० किलोमिटर पश्चिममा पर्ने खोर उमाइराहको तटीय क्षेत्रमा उक्त आक्रमण भएको थियो । तर हुथी समूहका एक सैन्य स्रोतले भने आफ्नो समूहले विस्थापित परिवारलाई नभई साउदी अरेबियाको समर्थन प्राप्त सरकारी सेनाको जमघटलाई लक्षित गरेको दाबी गरेको छ ।

बाब अल–मन्देब जलडमरूमध्य नजिकका सैन्य मोर्चाबाट सरकारी सेना पछि हटेपछि उनीहरूलाई निशाना बनाइएको उसको भनाइ छ । हुथी समूहको बन्दी मामिला समितिका प्रमुख अब्दुल कादेर अल–मुर्तादाले उक्त रिहाइ द्वन्द्व सुरु भएयताकै सबैभन्दा ठूलो एकपक्षीय बन्दी रिहाइ भएको बताएका छन्।

उनका अनुसार यसअघि पनि विभिन्न मानवीय पहलमार्फत समूहले दुई हजार ६१२ जना बन्दीलाई रिहा गरिसकेको छ । उनले बन्दी रिहाइलाई प्रतिशोधको विषय नभई मानवीय मुद्दाका रूपमा लिइएको बताए । बन्दी तथा उनीहरूका परिवारले भोगिरहेको पीडा कम गर्ने उद्देश्यले रिहाइ गरिएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय रेडक्रस समितिले पनि सामाजिक सञ्जाल एक्समार्फत बन्दी रिहाइको पुष्टि गरेको छ। समितिका प्रतिनिधिहरूले प्रत्येक बन्दीसँग छुट्टाछुट्टै निजी अन्तर्वार्ता गरेको र उनीहरूलाई सम्मानजनक रूपमा घर फर्काउन सहयोग गरेको जनाएको छ । यद्यपि, कसलाई रिहा गर्ने तथा कति जनालाई रिहा गर्ने भन्ने निर्णयमा आफ्नो कुनै भूमिका नरहेको समितिले स्पष्ट पारेको छ ।

अल–मुर्तादाले पछिल्लो समय सैन्य तनाव पुनः बढे पनि बन्दी आदानप्रदानसम्बन्धी पछिल्लो सम्झौता कार्यान्वयन गर्न हुथी समूह तयार रहेको बताएका छन् । मानवीय वार्तालाई सैन्य कारबाहीबाट अलग राख्नुपर्नेमा जोड दिँदै उनले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा हुँदै आएको परामर्श रोकिँदा सम्झौता कार्यान्वयनमा अवरोध पुगेको आरोप लगाए ।

बन्दी रिहाइ र मिसाइल आक्रमणबारे यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।यमनका विभिन्न मोर्चामा हुथी लडाकु र साउदी नेतृत्वको गठबन्धनको समर्थन प्राप्त सरकारी सेनाबीच पछिल्लो समय भिडन्त तिब्र बनेको छ ।

यससँगै गठबन्धनले हवाई आक्रमण जारी राखेको छ भने हुथी समूहले साउदी अरेबियाभित्रका तेल केन्द्र तथा सैन्य प्रतिष्ठानलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गर्दै आएको छ ।

सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीले राजधानी सानासहित उत्तरी यमनका अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरेपछि देशमा द्वन्द्व शुरु भएको थियो । त्यसपछि सन् २०१५ मा साउदी अरेबियाको नेतृत्वमा गठबन्धन सेनाले यमनको सरकारलाई समर्थन गर्दै सैन्य हस्तक्षेप गरेको थियो । त्यसयता यमन लामो समयदेखि सशस्त्र द्वन्द्वको चपेटामा पर्दै आएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया