असार ३०, २०८२ सोमबार July 14, 2025

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक प्रतिवेदन कानुन समितिबाट पारित

क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थपियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।

मंगलबार समितिलाई उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी बुधबार समितिले पारित गरेको हो। उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा-२ झिक्ने) मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रश्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताइन्।

उनका अनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ। तत्कालीन प्रचलित कानुनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरू कायम राख्ने तर तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरुको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।

उनले भनिन्,‘मनी लाउन्डरिङको विषयमा छलफल भयो र त्यसमा उपसमितिले हिजो नै प्रतिवेदन बुझाएको थियो । उपसमितिले बुझाएको प्रतिवेदनमा थप छलफल गर्नपर्ने विषयमा छलफल गरेका छौँ । अरु विषय उपसमितिले जे बुझाएको छ, त्यो नै विषय पास गर्‍यौँ र सहकारीको विषयमा विधेयकको दफा १८ को उपदफा २ झिक्ने वा सहकारी ऐन, २०७४ को दफा ५२ मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रश्ताव भएको विषय हटाउने। क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटर की ३ किलोमिटर गर्ने भन्ने विषय थियो, त्यो विषयमा तत्कालीन प्रचलित कानुनअनुसार ३ किलोमिटरको सीमाबाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोह?को सन्दर्भमा त्यो कायम राख्ने र तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरूले अब तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने । अब बन्ने नयाँ क्यासिनोको हकमा ५ किलोमिटरको सीमा कायम गर्ने।’

समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक समितिमा अड्काएर राख्न नहुने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया