श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे

प्रहरीले अफगानीहरूलाई पक्राउ गरेर हिरासतमा लिनका लागि दर्जनौँ होल्डिङ सेन्टर खोल्न सुरु गरेपछि पछिल्ला केही दिनमा बहुसङ्ख्यक मानिस सीमामा पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इस्लामाबादले १७ लाख अफगानीलाई मुलुक छाड्न वा पक्राउ र निर्वासनको सामना गर्न अल्टिमेटम दिएपछि एक महिनामा एक लाख ६५ हजारभन्दा बढी अफगानी पाकिस्तानबाट भागेको अधिकारीहरूले बिहीबार बताएका छन् ।

नोभेम्बर १ को समयसीमा नजिक आउनासाथ प्रहरीले अफगानीहरूलाई पक्राउ गरेर हिरासतमा लिनका लागि दर्जनौँ होल्डिङ सेन्टर खोल्न सुरु गरेपछि पछिल्ला केही दिनमा बहुसङ्ख्यक मानिस सीमामा पुगेका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको तोर्खममा पाकिस्तानको सबैभन्दा व्यस्त सीमाविन्दुमा अधिकारीहरूले सात किलोमिटरसम्म फैलिएको २८ हजार मानिसको लाइनलाई हटाउन बिहीबार बिहानै काम गरेका थिए ।

त्यसपछि सीमामा यातायात सहज भएको छ । प्रहरीले खोजी अभियान सुरु गरेका कारण अधिकारीहरूले कागजातविहीन अफगानहरूलाई स्वेच्छाले जान प्रोत्साहन गरेका छन् ।

सीमावर्ती जिल्लाका डेपुटी कमिश्नर अब्दुल नासिर खानले भन्नुभयो, “समय सीमा समाप्त भएकाले अवैध अफगानीहरू ठूलो सङ्ख्यामा तोर्खमा पुगेका छन्, मानिसहरू अहिले पनि स्वेच्छाले फर्किन सक्छन् तर आज सीमामा एक हजार मात्र उपस्थित छन् ।”

खैबर पख्तुनख्वा प्रान्तबाट एक लाख २९ हजार मानिस भागेको प्रान्तीय गृह विभागले जनाएको छ । त्यहाँको सीमा अधिकारीहरूले ३८ हजार एक सय मानिस बलुचिस्तानको चमन हुँदै आएको बताएका छन् ।

हालैका दशकमा हिंसात्मक सङ्घर्षका क्रममा भागेर लाखौँ अफगानीहरू पाकिस्तान आएका छन् । तीमध्ये सन् २०२१ अगस्टमा तालिबान सरकारले सत्ता कब्जामा लिएर कठोर इस्लामी कानून लागू गरेपछि करिब छ लाख मानिस रहेका छन् । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया