काठमाण्डौंः इरानको उत्तरी प्रान्त गिलानमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म ३२ पुगेको इरानी विद्यार्थी समाचार संस्था (आईएसएनए) ले जनाएको छ । उक्त आगलागीका कारण अन्य १७ जना घाइते भएका समाचारमा उल्लेख गरिएको छ ।
गिलानका राजनीतिक, सुरक्षा र सामाजिक मामिलाका लागि डेपुटी गभर्नर मोहम्मद जलाइलाई उद्धृत गर्दै आईएसएनएले लाङ्गारूड काउन्टीको पुनः स्थापना केन्द्रमा बिहान सबेरै आगलागी भएको जनाएको छ ।
उहाँले घाइतेमध्ये चार जनालाई ‘इन्ट्युबेट’ गरिएको र बाँकीको अवस्था राम्रो रहेको उल्लेख गर्दै केन्द्रको क्षमता ४० रहेको बताउनुभयो ।
इरानका न्यायपालिका प्रमुख गुलाम हुसेन मोहसेनी एजेईले घटनाको पूर्ण अनुसन्धान गर्न आदेश दिएको अर्धसरकारी समाचार संस्था तस्निमले जनाएको छ ।
गिलानको न्याय विभागका प्रमुख इस्माईल सादेकी–नियाराकीलाई उद्धृत गर्दै तस्निमले समाचारमा लेखेको छ, “अनुसन्धानपछि आगलागीको कारण खुल्ने तर अहिले आगलागी हुनुको कुनै कारणबारे अनुमान गर्नु हतार हुनेछ । सादेकी–नियाराकीले आवश्यक न्यायिक आदेश जारी गरिएको र पुन:स्थापना केन्द्रको व्यवस्थापन निगरानीमा रहेको र यसका प्रमुखलाई हिरासतमा लिइएको बताउनुभयो ।
घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया