काठमाडौ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने घोषणा गरेको छ । जाजरकोट, पश्चिम रुकुम लगायतका जिल्लामा गएको भूकम्पका कारण पीडित भएकाहरूलाई निजी विद्यालयहरूबाट २५ लाख रुपैयाँ बराबरको राहत सङ्कलन गरि वितरण गर्ने घोषणा गरिएको हो ।
पीडितहरूलाई राहत पुर्याउने उद्देश्यले प्याब्सन सदस्य विद्यालयहरूबाट २५ लाख बराबरको राहत रकम सङ्कलन गरी सम्बन्धित क्षेत्रमा राहत वितरण गरिने प्याब्सनले जनाएको छ । त्यसका लागि केन्द्रीय उपाध्यक्ष नैनसिंह खत्रीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन गरेको छ । उक्त समितिलाई तत्काल कार्य आरम्भ गर्न प्याब्सन केन्द्रीय कार्यसमिति निर्देशन दिएको छ ।
त्यस्तै राहत सहयोग सङ्कलनमा सहयोग गर्न समेत सबै प्रदेश समितिलाई निर्देशन दिएको छ । घाइतेहरूको उपचारका लागि आवश्यक औषधी तथा बसोबास र खाद्यान्नको उचित व्यवस्थापन मिलाउन सरकारसँग सहकार्य गर्ने जनाएको छ ।
भूकम्प पीडित क्षेत्रका विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारीहरूमा भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न समेत केन्द्रीय उपाध्यक्ष खत्रीलाई जिम्मेवारी दिइएको अध्यक्ष डिके ढुङ्गानाले बताए ।
प्रतिक्रिया