काठमाडौं : आईसिसी विश्वकप क्रिकेटमा शनिबार अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । ३ सय ७ रनको लक्ष्य अष्ट्रेलियाले ४४.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको हो ।
अष्ट्रेलियाको जितमा मिचेल मार्सले उत्कृष्ट ब्याटिङ गरे । उनी १ सय ३२ बलमा १ सय ७७ रन बनाएर अविजित रहे । उनले १७ चौका र ९ छक्का प्रहार गरेका थिए ।
स्टिभन स्मिथले ६३ रन बनाए । उनी पनि अविजित रहे। ओपनर डेभिड वार्नर ५३ र ट्राभिस हेड १० रनमा आउट भएका थिए ।
पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३ सय ६ रन बनाएको थियो । बंगलादेशका लागि तौहिद हृडोयले ७४ र नजमुल हसन शान्तोले ४५ रन बनाए ।
अष्ट्रेलिया यसअघि नै सेमिफाइदल पुगिसकेको छ भने बंगलादेश बाहिरिइसकेको थियो ।
जितसँगै अष्ट्रेलिया तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सेमिफाइनलमा उसले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया