जेठ २०, २०८१ आइतबार June 2, 2024

यी हुन लकडाउनको समयमा खोल्न पाइने र नपाइने क्षेत्रहरू (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले गत चैत ११ देखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार सम्पन्न मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा  आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थ तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउनलाई खुकुलो बनाउदै केहि क्षेत्रलाई खुल्ला गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

यस्तै बैठकले नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीका आधारमा चल्ने दिने निर्णय गरेको छ । बैठकले उद्योग, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर्सहरु खुल्ला गर्ने निर्णय गरेको छ ।

मन्त्री खतिवडाका अनुसार स्वास्थ्यसँग सम्बन्धित क्षेत्र, सबै प्रकारका कृषि र पशुपक्षी व्यवसाय, उत्पादनदेखि बिक्रीवितरणसम्मको श्रृंखला खुला गरिएको छ । यसअघि अनावश्यक कामका लागि बाहेक पैदल यात्रामा रोक लगाएको सरकारले पैदल यात्रा खुला गरेको छ भने मोटरसाइकल र साइकल चलाउन दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए । त्यस्तै सरकारले पछिल्लो समय कोरोना भाइरसको संक्रमण झन् बढ्दै गएको भन्दै तत्काल सार्वजनिक सवारी सञ्चालन नगर्ने निर्णय गरेको छ ।

मन्त्री खतिवडाका अनुसार निजी र सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ । भौतिक दूरीलाई व्यवस्थित गर्न र भिडभाड कम गर्न सरकारले यो निर्णय गरेको हो। तत्कालका लागि बिहान आठबजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय सरकारले गरेको प्रवक्ता खतिवडाले बताए । सवारीसाधान संचालन र कार्यालय सञ्चालन गर्ने निर्णय असार १ गतेदेखि र अन्य निर्णयहरु बिहीबारदेखि २१ दिनसम्म कायम हुने छ । त्यस्तै यस बर्ष एइइ परिक्षा नलिने निर्णय गर्दै बिद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै मान्यता दिई प्रमाणपत्र दिईने खतिवडाले बताए ।

उनले अन्तराष्ट्रिय र आन्तरिक उडान, सीमानाकाबाट आवातजातव, सिनेमाहल, सार्वजनिक पुस्तकालय, धार्मिक स्थलमा भेला हुन निषेध गरिएको बताए । मन्त्रिपरिषद्ले नेपाल–भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ । नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

खोल्न तथा सञ्चालन गर्न मिल्ने क्षेत्र र व्यवसायहरू यस्ता छन्ः 

-फोहोरमैला व्यवस्थापन,

-विद्युत, दमकल, सञ्चार र हुलाक सम्बन्धी कार्यालय र सवारी साधन,

-बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा,

-नर्सरी र वन जन्य उद्यम खुला भएको छ। (कृषिकै अंगको रुपमा चल्ने भएकाले खुला गरिएको हो),

-विकास आयोजना निजी क्षेत्रबाट प्रवद्धित पूर्वाधार र जलविद्युत आयोजना निर्वाध सञ्चालन गर्ने,

-नदी तथा खानी जन्य पदार्थको उत्पादन, संकलन र बिक्री वितरण खुला,

-रेष्टुरेन्ट खान ल्याउर सेवा लिन सकिन्छ। प्याकिङ खान परिवारसँग खान सकिन्छ  र खाना संकलन गर्न सकिन्छ तर रेष्टुरेन्टमा बसेर खान पाइदैन,

-क्वारेन्टाइनका लागि तोकिएका होटल र त्यसका यातायात साधन सञ्चालन गरिने अन्य सञ्चालन नगर्ने,

-सरकारी कार्यालय,

-शिक्षण संस्थाका कार्यालय,

-गैरसरकारी संस्थाका कार्यालय (सबै कार्यालय यातायात र कार्यस्थलमा सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्नुपर्नेछ। कार्यालय दुई सिफ्ट  बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म) पूर्ण रुपमा सञ्चालन गर्न पाइने छ ।

-जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी कार्यालयका सवारी साधन श्रमिकको आवगमनका लागि सञ्चालन गरिने। यसरी सञ्चालन हुने सवारी साधनको  सिटको एक लहरमा एकजना मात्र यात्रु राख्न पाइने छ। गाडीमा सवार सबैले मास्कसँगै सबै स्वास्थ्य सुरक्षाका मापदण्ड उपयोग गर्नुपर्नेछ ।

-सञ्चालन हुने कार्यालय र उद्योग क्षेत्रलाई सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा मापदण्डका लागि प्रोटोकल लागू गर्नुपर्नेछ।

-यी सबै निर्णय असार १ गतेदेखि लागू हुनेछन्।

सञ्चालन गर्न नपाइने क्षेत्रहरूः

-शैक्षिक संस्था (विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र),

-अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तराष्ट्रिय उडान,

-तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,

-सबै प्रकारका तालिम, गोष्टी, सभा र सेमिनार,

-सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन,

-सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल,

-सार्वजनिक पुस्तकालय, सग्राहालय, चिडियाखाना, शैलुन र ब्युटीपार्लर,

-स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब,

-सपिङ महल,

-समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,

-सबै धार्मिक तथा सार्वजनिक स्थलहरु,

-यात्रुबाहक सवारी साधन (त्यसमा पर्यटक सवारी साधन समेत),

-काठमाडौं उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सोही सम्बन्धित जिल्ला भित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने। अन्य क्षेत्रमा यो निर्णय लागू नहुने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया