काठमाडौंः इटालीका तथा युभेन्टसका पूर्वडिफेन्डर जर्जियो किलिनीले व्यावसायिक फुटबल जीवनबाट संन्यासको घोषणा गरेका छन् । उनले आफ्नो यात्रालाई जीवनको सबैभन्दा सुन्दर र गहन रुपमा व्याख्या गरे ।
सन् २०२० को युरोकपमा इटालीले उपाधि जित्दाका कप्तान किलिनीले २३ वर्षपछि खेल जीवनबाट विश्राम लिने निर्णय गरेका हुन् । ३९ वर्षीय किलिनीले समाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन् ‘फुटबल मेरो जीवनको सबैथोक हो , यसका साथ अविस्मरणीय र अद्वितीय यात्रा तय गरे । तर अब नयाँ अध्याय सुरु गर्ने समय आएको छ ।’
उनले सन् २०२२ देखि मेजर लिग सकर क्लब लस एन्जलस एफसीबाट खेल्दै आएका थिए । एमएलएस कप फाइनलमा उनको टोली गत शनिबार कोलम्बस क्रिउसँग २ – १ गोलले पराजित भएको थियो । उनले २०२२ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए । उनले सन् २००० मा लिभनोबाट करियर सुरु गरेका थिए । त्यसपछि उनले क्लब फुटबलको सबै सफलता युभेन्टसमा हासिल गरेका हुन् । १७ सिजन युभेन्टसमा बिताएका उनले सन् २०११ देखि २०२० सम्म लगातार नौ पटक सिरी ए उपाधि जितेका जितेका थिए ।
किलिनीले पाँच पटक कोपा इटालिया, पाँच घरेलु सुपर कप जित्दा दुई पटकका च्याम्पियन्स लिग उपविजेता हुन् । इटालीबाट १ सय १७ क्याप जितेका उनले आठ गोल गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया