काठमाण्डौंः इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजन अघिको मिनी अक्सन आज आयोजना हुँदैछ । दुबईमा हुने अक्सन दिउँसो सवा १ बजे सुरु हुने छ ।
यस लिलामीमा आईपीएलका १० टोली सहभागी हुनेछन् । एउटा टोलीमा १८ देखि २५ खेलाडी राख्न पाउने आयोजकको प्रावधान छ । जसमा ८ जना भारत बाहिरका विदेशी खेलाडी हुनेछन् । नेपाली खेलाडीहरुले अक्सनका लागि आफ्नो नाम पठाए पनि कुनै खेलाडी सर्ट लिस्टमा अटाउन सकेनन् । यदि कुनै फ्रेन्चाइज टोलीले चाहेको खण्डमा नेपाली खेलाडी अक्सनमा पर्न सक्ने सम्भावना भने बाँकी छ ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्समा ६ खेलाडीको कोटा खाली रहँदा उसको साथमा ३१ दशमलव ४ करोड भारतीय रुपैयाँ बाँकी छ । हैदरावादसँग ६ खेलाडी खरिद गर्न ३४ करोड छ ।
लखनऊ सुपरजायन्ट्समा पनि ६ खेलाडी अपुग छन् । उसको साथमा १३ दशमलव १५ करोडमात्र बाँकी छ । यस्तै पञ्जाब किंग्ससँग २९ दशमलव १० करोड भारतीय रुपैयाँ बराबरको मौजदात छ । यस रकमले उसले अधिक्तम ८ खेलाडी खरिद गर्न सक्छ । ८ खेलाडी खरिद गर्नु पर्ने राजस्थानसँग साढे १४ करोड रुपैयाँ छ । ४ खेलाडीको कमी रहेको मुम्बई इन्डियन्सको पर्समा भने १७ दशमलव ७५ करोड छ । उसले लिलामी अघि हार्दिक पाण्ड्यालाई गुजरातबाट खरिद गर्दै कप्तान नियुक्त गरेको थियो ।
यस्तै कोलकाता नाइट राइडर्सको ३२ दशमलव ७० करोड भारु मौजदात हुँदा उसले अधिक्तम १२ खेलाडी आफ्नो टिममा सामेल गर्न सक्छ । यस मिनी अक्सनका लागि सबैभन्दा बढी बजेट गुजरात टाइटन्ससँग छ । ३८ दशमलव १५ करोड रुपैयाँ रहेको साविक उपविजेताले हार्दिकलाई १५ करोडमा मुम्बई पठाएको थियो । उसले अधिक्तम ८ खेलाडी किन्न सक्छ ।
दिल्ली क्यापिटल्ससँग ९ खेलाडी किन्न २८ दशमलव ९५ करोड बजेट छ । यस्तै बैंगलोरको पर्समा २३ दशमलव २५ करोड भारु बाँकी छ । उसले अधिक्तम ६ खेलाडी किन्न सक्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया