काठमाण्डौंः धनगढी रङ्गशालामा आजदेखि सुरु भएको छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा साविक विजेता स्टार सिटी युवा क्लब विजयी भएको छ । स्टार सिटीले पुनर्वास नगरपालिका खेलकुद विकास समितिको टिमलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
स्टार सिटीको जितमा विनोद केवत र कप्तान कुँवेर सिंहले एक÷एक गोल गरे । विजयीसँगै स्टार सिटी युवा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विनोदले दोस्रो हापको पाँचौँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए । अतिक्ति समयमा कप्तान सिंहले टिमका लागि अर्को गोल थपे । उत्कृष्ट प्रदर्शन गरेर ‘म्यान अफ द म्याच’ घोषित स्टार सिटीका कप्तान कुँवेरले रु पाँच हजार पुरस्कार पाए ।
शनिबारको पहिलो खेल इलाइट युवा क्लब र अलस्टार स्पोट्र्स एकेडेमीबीच र दोस्रो खेल टेकबहादुर चोखाल फाउण्डेन र घोडाघोडी क्लबबीच हुने कार्यतालिका छ । पशुपति युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख पुस्कार पाउने आयोजक क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडी जनही रु १५ हजार पाउनेछन् । यसअघि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
सो अवसरमा शिक्षा क्षेत्रका शिवहरि मुडभरी, स्वास्थ्य क्षेत्रका डा निराजनदत्त शर्मा पौडेल, खेल क्षेत्रका फुटबल प्रशिक्षक लालबहादुर खड्का र धेरै पटक रक्तदान गरेर योगदान गरेका पत्रकार दीपक उपाध्याय नेपाललाई सम्मानित गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया