काठमाण्डौंः कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रमा न्यून लगानी भएको बताउनुभएको छ ।
सर्लाहीमा आयोजित दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी मेलाका अवसरमा कृषिको क्षेत्रमा तीन प्रतिशतमात्रै बजेट बिनियोजन भएकाले र त्यो पर्याप्त नभएको बताउनुभयो । उहाँले कृषिमा सिँचाइ, मलखाद, बीउबिजन लगायत प्रविधियुक्त कृषिलाई अगाडि बढाउनु आवश्यक रहेको धारणा राख्नुभयो ।
मन्त्री भुसालले कुल २० लाख ९१ हजार हेक्टर क्षेत्रफलमध्ये करिब १७ प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा पुगेको बताउनुभयो । उहाँले चुरे संरक्षण, प्राङ्गारिक मलको प्रयोगले मात्रै उत्पादनलाई बढावा दिन सकिने र त्यसको उचित बजार व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो । प्रविधिको विकाससँगै कृषि प्रविधिमा परिवर्तन आउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
उहाँले कृषिजन्य उत्पादन र कृषिमा सुधारात्मक परिवर्तन ल्याउन प्रविधि, उद्योग, मल बीउ, सिँचाइ लगायत व्यवस्थापनका साथै बजारको उचित व्यवस्था गर्न आवश्यक रहेको र बजारको मागअनुसार कृषिजन्य वस्तुको उत्पादन गर्दा कृषि क्षेत्रमार्फत नै फड्को मार्न सकिने बताउनुभयो ।
किसानका उत्पादन र प्रविधियुक्त कृषि खेतीको प्रवर्द्धन र व्यवस्थापन गर्न सहज होस् भनेर कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी मेला आयोजना गरिएको हरिवन नगरपालिकाका नगरप्रमुख एवं कार्यक्रमका अध्यक्ष रमेश बुढाथोकीले बताउनुभयो ।
‘मधेस प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रदर्शनी मेलामा उत्कृष्ट किसानलाई सम्मान गरिएको थियो । साथै बैङ्क तथा संस्थाबीच अन्तरक्रिया, पशु उपचार, गोबर परीक्षण, माटो परीक्षणका साथै किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको प्रदर्शन र स्थानीय कलाकारबाट कला, संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । मेला माघ ७ गतेसम्म सञ्चालन हुने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया