श्रावण १२, २०८१ शनिबार July 27, 2024

राजनीतिक दलका नेताहरूसँग साँठगाँठ गरेरै नियुक्ति खाएकाहरूले नेताहरूलाई कारबाही गर्न सक्दैनन्  : पदमिनी प्रधानाङ्ग (अन्तवार्ता)

‘ठूला भ्रष्टाचारमा सर्वदलीय मिलेमतोको अन्त्य नभएसम्म सुशासन सम्भव छैन’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको अवस्था निकै नाजुक देखिन्छ । सुशासनमा सुधार आउन नसक्नुको कारण के हो जस्तो लाग्छ ?

नेपालमा भ्रष्टाचार नियन्त्रणमा सुधार भएको छैन । सन् २०२२ मा १८० देशमा नेपालको स्थान ३४ अंकसहित ११० स्थानमा थियो । अहिले दुई तहमाथि उक्लिएर ३५ अंकसहित १०८ स्थानमा रहन त पुग्यो तर यो समग्रमा सुधार र उपलब्धि होइन । टीआईले सर्वेक्षणमा १३ वटा डाटा सोर्स प्रयोग गर्ने गरेकामा नेपालमा ६ वटामा मात्रै सर्वेक्षण भएको हो । सर्वेक्षणमा शून्य आउनु भनेको भ्रष्टाचारले अति ग्रस्त हो भने १०० अंक सुशासन भएको स्वच्छ मुलुक । ५० अंकलाई सुधारका लागि औसत अंक मानिन्छ । ५० भन्दा कम अंक ल्याउने देश भ्रष्टाचार व्याप्त रहेको सूचीमा पर्छ । नेपालसहित दुईतिहाइ देशले औसतभन्दा पनि कम अंक पाएका छन् । त्यसैले गत वर्ष र यो पटक खासै उपलब्धि भएको देखिँदैन । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न राज्य निकै निर्मम हुन आवश्यक छ ।

नेपालले कुन–कुन क्षेत्रमा निकै सुधार गर्नुपर्ने देखिन्छ ?

टीआईका ६ वटा डाटा सोर्समध्ये बर्टेल्सम्यान फाउन्डेसनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीलाई कत्तिको कारबाही हुन्छ र सरकारले भ्रष्टाचारविरुद्धको कारबाही कुन रूपमा गरेको छ भन्ने सर्वेक्षणमा यो पटक पनि गत वर्षझैं ३३ अंक नै दिएको छ । ग्लोबल इन्साइटले व्यापार–व्यवसाय, ठेक्कापट्टा, आयात–निर्यातमा घूस र भ्रष्टाचारको अवस्थामा गत वर्षझैं समान ३५ अंक दिएको छ । भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीएम) ले राजनीतिक भ्रष्टाचारअन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिकामा भ्रष्टाचारको व्यापकता विषयमा गरेको सर्वेक्षणमा गत वर्षभन्दा अहिले ५ अंक बढी दिएको छ । गत वर्ष ३० अंक आएका थियो भने यो पटक ३५ । यसमा केही झिनो सुधार देखिएको छ । विश्व बैंकले गरेको सरकारद्वारा सार्वजनिक पदाधिकारीको निगरानी, राज्यको सूचनामा पहुँच र राज्य सञ्चालनमा सीमित व्यक्तिको पकडबारे सर्वेक्षणमा गत वर्ष र यो पटक समान ३५ अंक दिएको छ ।

वर्ल्ड इकोनोमिक फोरमले सार्वजनिक सेवा, कर, भुक्तानी, आयात–निर्यात, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच, न्यायिक ठेक्का–पट्टा र न्यायिक निर्णयसम्बन्धीमा भ्रष्टाचारमा गत वर्ष र यो पटक समान ३८ अंक नै दिएको छ । वर्ल्ड जस्टिस प्रोजेक्टले गरेको सरकार, न्यायालय, संसद र सुरक्षा निकायका प्रतिनिधिहरूद्धारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोगसम्बन्धी सर्वेक्षणमा गत वर्षभन्दा १ अंक बढी दिएको छ । यो क्षेत्रमा गत वर्ष ३४ अंक आएकामा यस पटक ३५ छ, जुन झिनो सुधार हो । यसरी यी ६ क्षेत्रमा भएको सर्वेक्षणअनुसार भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र समग्रमा सुशासन कायम गर्ने मामिलामा नेपालको स्थिति निकै नाजुक र निराशाजनक नै देखिन्छ । गत वर्ष विभिन्न अपराधमा राजनीतिक दलहरूका केही व्यक्ति कारबाहीको दायरामा आए । अपराध न्यायिक निरूपणका लागि अदालतसम्म पुग्यो । अदालतले पनि केहीलाई कारबाहीको दायराभित्र ल्यायो । त्यसको सकारात्मक असरस्वरूप १ अंक बढी आएको हो । अरू विषयमा कहीँकतै सुधार छैन । हामीले ५० भन्दा माथि ल्याउन सक्नुपर्छ । सुधार सबै क्षेत्रमा हुनुपर्छ ।

के–के काम गर्दा सुधार आउँछ त ?

भ्रष्टाचारविरुद्धका विभिन्न अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले हस्ताक्षर गरेपछि त्यसअनुसारका कानुन ल्याउनुपर्छ कि पर्दैन ? त्योअनुसार कानुनमा सुधार हुनुपर्छ कि पर्दैन ? राजनीतिक दल र उच्चपदस्थ व्यक्तिहरूले निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग गरिरहेका छन् । यसलाई रोक्नुपर्छ । न्याय निरूपण स्वतन्त्र न्याय प्रणालीको मर्म र भावनाअनुसार हुनुपर्छ । अपराधमा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । पीडितलाई न्यायको प्रत्याभूति दिन सक्नुपर्छ ।

सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार निवारणसम्बन्धी कानुन कमजोर र स्वार्थप्रेरित बनाउन दलहरू नै उद्यत छन् । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणलाई बढावा दिने खालका प्रावधान समेटेर विधेयकहरू आएका छन् । यसले त सुधार गर्न सक्तैन नि ∕ सम्पत्ति शुद्धीकरणकै कुरा गरौं न, हाल सदनमा विचाराधीन विधेयक पास हुने हो भने नेपाल कालो सूचीमा पर्न सक्छ । शुद्धीकरणलाई विधेयकले मलजल गरेको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकको कुन प्रावधान घातक छ ?

अवैध सम्पत्तिलाई वैध बनाउने खेल गरिएको छ । कोही व्यक्तिसँग रकम छ, उसले आम्दानी हुने केही काम गरेको छैन । र, उसले भ्रष्टाचार गरेको पनि छैन तर ऊसँग त्यस्तो कुनै रकम आयो भने उसको सम्पत्तिबाट कर असुलेर वैध बनाउने खेललाई यो विधेयकले खुला गरेको छ । कसैसँग पैसा त्यत्तिकै त आउँदैन नि ∕ पैसा आउने स्रोत के हो ? एउटा न एउटा बाटो हुन्छ नि पैसा आउने ∕ भ्रष्टाचार अब हातहातै मात्रै हुँदैन । हातहातै लेनदेन हुँदा मात्रै भ्रष्टाचार भन्ने होइन । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मामिलामा स्वयं व्यक्तिले नै आयस्रोत देखाएर सुशासनका लागि अग्रसर हुनुपर्नेमा विधेयकमै आयस्रोत देखाउन नपर्ने, मात्र कर तिरे पुग्ने गरी प्रावधान आउछ भने सुधार कसरी होला ?

गलत कानुन बनाउँदा देशलाई अहित हुन्छ भन्ने जान्दाजान्दै किन नेताहरू त्यतैतिर उद्यत छन् ? यसमा व्यापारीहरूले नेतालाई पकडमा राखेका हुन् कि नेताहरू आफैं गलत बाटोमा हिँडेका ?

अब व्यापारी, नेता, राजनीतिज्ञ छुट्याउनै गाह्रो भयो । हामीले स्वार्थ बाझिएकाहरूलाई कानुन बनाउने थलोमा नल्याउन, सार्वजनिक नियुक्तिमा नल्याउन बारम्बार अनुरोध गरेका थियौं । निर्वाचनबाट जितेर आइसकेपछि पनि स्वार्थ बाझिएका ठाउँमा सम्बन्धित व्यक्तिलाई संसदीय समितिमा नराख्न पनि सुझाव दिइएको हो । भ्रष्टाचारविरद्ध काम गर्ने ट्रान्सपरेन्सीजस्ता संस्थाका सुझावहरूको अनुसरण भएको छैन । भ्रष्टाचारको मुद्दामै हदम्याद लगाउनुपर्छ भन्नेमा सांसदहरू देखिएका छन् ।

जस्तो, भ्रष्टाचार गरेको पाँच वर्षपछि थाहा पाएको अवस्थामा अनुसन्धान हुन नसक्ने गरी कानुन ल्याउन खेल भइरहेको छ । यो भनेको त भ्रष्टाचार गर्नलाई प्रोत्साहन गर्नु होइन र ? भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्र संघीय महासन्धि (अनक्याक) को पक्षराष्ट्र भएको २० वर्ष पुगिसक्यो । तर, त्यसअनुसारका सुधार गर्न र कानुन ल्याउन पहल नै भएको छैन । अहिले उल्टै अनक्याकविरुद्ध हुने गरी पाँचवर्षे हदम्याद राख्ने गरी विधेयक आएको छ । यो त सरासर कुशासनलाई भित्र्याउनु हो नि !

स्वार्थ बाझिने गरी व्यापारीहरू नै कानुन बनाउने ठाउँमा आएका छन् । उनीहरूले आफूलाई अहित हुने गरी कानुन बनाउलान् अनि सुशासन आउला भनेर पत्याउन सकिएला र ?

चाणक्य नीतिमा व्यापारी राजा भयो भने जनताले दुःख पाउँछन् भनिएको छ । त्यो बेला राजा हुन्थे र चाणक्य नीतिमा पनि राजालाई व्यापारीसँग तुलना गरियो । अहिले त राजा छैनन्, दलका नेताहरू नै राजकाजमा छन् । नेताहरूले नै व्यापारीलाई नेताका रूपमा भित्र्याएपछि दुःख पाउने त जनताले नै हो । स्वार्थ बाझिने गरी र नेता–व्यापारीलाई फाइदा हुने खालको मात्रै कानुन बन्न थाल्यो । त्यसैले तिनीहरूलाई स्वार्थको द्वन्द्व भएका ठाउँमा नियुक्ति र कुनै पनि भूमिका दिइनु हुँदैन भन्ने हाम्रो माग हो ।

सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति गुपचुप छ । नीतिगत निर्णयका नाममा ठूलठूला अनियमितताका खेल भइरहेका छन् । यसले सुशासन कायममा कस्तो अवरोध गर्छ ?

अनियमितताको एउटा पाटो नै यही हो । सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूले आफ्नो सम्पत्ति जनतासामु देखाउनै नसक्ने पनि हुन्छ र ? नीतिगत निर्णयका नाममा ठूला खरिद–घोटालालाई अनुसन्धानको दायरामा पार्न नदिन यो चाल चालिएको हो भन्ने लाग्छ । भएका कानुनमार्फत अघि बढ्दा समय अभाव हुने र तत्काल गर्नैपर्ने कामलाई सहज बनाउन गरिनुपर्ने हो नीतिगत निर्णय । तर, हरेक कुरालाई नीतिगत विषय बनाएर मन्त्रिपरिषद्बाट निर्णय गरिँदै आएको छ । यो पनि अनियमितता हो । भ्रष्टाचार हो । नयाँ विधेयकमा पनि संघीय, प्रदेश सरकार वा सोबाट बनेका उपसमितिहरूले गरेका निर्णयलाई पनि नीतिगतका रुपमा समेटेर कुनै अनुसन्धान, तहकिकात गर्न वा प्रश्न उठाउन नपाइने गरी कानुन बनाउने खेल भइरहेको छ ।

यो भयो भने त मन्त्रिपरिषद् नै सर्वेसर्वा हुने भयो, कुनै कानुनले पनि नछुने भयो । लोकतन्त्र/प्रजातन्त्रमा त यस्तो नहुनु पर्ने हो । यसबाट देशलाई कतातिर मोड्न खोजिँदै छ भन्ने प्रश्न पनि उठेको छ । ‘हामीलाई कानुन बनाउन पनि नदिने, हामी त जनप्रतिनिधि पो हौं’ भन्ने कुरा आउला, तर जनप्रतिनिधिहरूले त जनता र देशको हितको लागि काम गर्ने हो । जनतासँग भोट लिएर सीमित समयका लागि जनताका काममा खट्ने वाचा न हो आवधिक निर्वाचन ∕ जनप्रतिनिधिहरूलाई जे पनि गर, देशको अहितमा काम गर भनेर जिताएर पठाइएको त होइन नि ! जितेर आएपछि गल्ती गरे भने उनीहरूमाथि सम्बन्धित निकायले अनुसन्धान–कारबाही पनि गर्न नपाउने ? यही हो त लोकतन्त्र ?

भागबन्डाबाट नियुक्ति पाएका पदाधिकारीहरूले आफूलाई नियुक्ति गर्नेमाथिको अनुसन्धानमा निर्मम बन्न सक्छन् ?

म त भागबन्डामा नियुक्ति होइन, अनियमितता र भ्रष्टाचार गर्न सर्वदलीय गठबन्धन भइरहेको छ भन्छु । ठूला भ्रष्टाचारमा दलहरू मिलेका छन् । सुशासनका निम्ति यो घातक छ । सदनमै गठबन्धन छ । सत्ता र प्रतिपक्ष कोही छैनन् । आफूलाई अप्ठेरो पर्दा के सत्तापक्ष, के प्रतिपक्ष सबै एक ठाउँमा बस्छन्, देखाउन मात्र सत्ता–प्रतिपक्ष बन्ने हुन् । कुनै पनि मुलुकमा यस्तो हुँदैन । विज्ञ–विशेषज्ञहरू कुनै पनि राजनीतिक दलसँग संलग्न हुन नहुने हो । तर, यहाँ त दलहरूका कार्यकर्ता विज्ञ–विशेषज्ञ बने । हुँदाहुँदा सरकारी कर्मचारीहरू पनि दलकै कार्यकर्ता बने । राज्यको स्थायी संयन्त्र कर्मचारी तन्त्रमै दलहरूका भ्रातृ संगठन खोल्न दिएर पक्ष–विपक्षमा उतारिन्छ भने सुशासनको अपेक्षा कसरी गर्ने ? कर्मचारीले त निष्पक्ष रूपमा जनतालाई सेवा दिने हो नि !

ठूला भ्रष्टाचारमा सत्ता–प्रतिपक्षी दलहरूबीच राजनीतिक सहमति हुन्छ भन्ने आरोप छ, यसलाई कसरी लिनुहुन्छ ?

ठूलठूला भ्रष्टाचारमा सबै दल मिलेकै देखिन्छन् । केही ठूला भ्रष्टाचार र अपराधको अनुसन्धान सुशासन कायम गर्छु भनेर गरिएको होइन, भवितव्यले भएको हो । प्रमाणका रूपमा नक्कली भुटानी शरणार्थीको केस हेरौं न, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खेलिएको अपराधको शृंखला त धेरैवटा सरकार, धेरैवटा गठबन्धनकै पालामा भएको रहेछ नि !

तर, त्यो अपराध सरकार परिवर्तन हुँदासमेत रोकिएन, निरन्तर चली नै रह्यो । दलहरू नमिलेका भए त्यो विषय पहिले नै आउँथ्यो । अघिल्लो सरकारले गरेको नराम्रो कामलाई पछल्लिो सरकारले रोक्थ्यो । संलग्नलाई कारबाहीको दायरामा ल्याउँथ्यो । तर भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा नलगीकन त्यसलाई नै किन निरन्तरता दिइयो ? अपराध–भ्रष्टाचारमा दलहरूको गठबन्धनको योभन्दा ठूलो प्रमाण अर्को हुन सक्छ र ?

नक्कली शरणार्थी प्रकरण त अनुसन्धानको दायरामा आयो नि ?

अनुसन्धान पनि भयो, मुद्दा अदालतसम्म पुग्यो पनि, तर कारबाही नै सशक्त रूपमा अघि बढेन । जुनजुन प्रहरीले अनुसन्धान गरिरहेका थिए, उनीहरूलाई नै अस्वाभाविक रूपमा सरुवा गरियो । प्रहरी अनुसन्धान रोक्न चलखेल भयो । अझ नक्कली शरणार्थी प्रकरण मिडियाले बाहिर ल्याएपछि मात्रै अनुसन्धान अघि बढेको हो त्योभन्दा अघि ज–जसले पैसा बुझे, फिर्ता गरिदिएको भए त सामसुम हुने रहेछ नि ! तथ्यले यही भन्छ । नक्कली शरणार्थी बनाउन गृह मन्त्रालयको गाडी प्रयोग भएको छ । बिचौलियाहरू मन्त्रीलाई भेट्न बारम्बार मन्त्रालय पुगेका छन्, पैसा बुझेका तथ्य छन् । अति भइसकेपछि मात्रै पीडित भनिएकाहरू पत्रकारको सम्पर्कमा पुगे । त्यसपछि पत्रकारले

आफ्नो खोज–अनुसन्धानबाट बाहिर ल्याएको विषय हो यो । अत्ति भएपछि पोखिएको हो । यसमा सरकार बाध्य भएर मात्रै अनुसन्धान गर्न पुगेको मान्छु म त ।

पछिल्ला १० वर्षका सूचकांकले देशको सुशासन माथि उठ्न नसकेको देखाउँछन् । यसबीच शासकीय प्रणाली नै एकात्मकबाट संघीयतामा गयो । तर, सुधारमा उपलब्धिशून्य । यो के कारणले हुन सक्छ ? २०४६ पछि पटक–पटक राजनीतिक आन्दोलनहरू भए । व्यवस्था परिवर्तन नै भयो । विदेशतिर धेरै ठाउँमा व्यवस्था परिवर्तनसँगै नयाँ व्यवस्थामा नयाँ व्यक्ति आएर नयाँ किसिमले सञ्चालनमा आएको हुन्छ । तर, यहाँचाहिँ पुरानो व्यवस्था परिवर्तन गर्नुपर्‍यो भनेर आन्दोलन गर्नेहरू पनि तिनै, परिवर्तनपछि आउनेहरू पनि तिनै, हरेक पटक राज्यसञ्चालन गर्नेहरू पनि तिनै ! एउटा व्यक्तिले जतिसुकै परिवर्तन गरे पनि उसको प्रवृत्ति त्यही हुन्छ ! नयाँ किसिमले परिवर्तन गर्नलाई त नयाँ मान्छे आउनुपर्‍यो नि ! आन्दोलन गर्नमा पोख्त हुनेहरूमा देशको व्यवस्थापन गर्नमा कमजोरी छ । राज्य व्यवस्थापनमा अहिलेका शीर्ष नेताहरूको कमजोरी छ नै, नत्र व्यवस्था परिवर्तनपछि सुशासनको मामिलामा झन् अगाडि बढ्नुपर्ने हो । अहिले भ्रष्टाचार जताततै व्याप्त छ ।

कतिसम्म भने, विश्वभरिका हिन्दु–बौद्ध धर्म मान्नेहरूको आस्थाका केन्द्र पशुपतिनाथ र लुम्बिनीमा पनि भ्रष्टाचार भएको छ । त्यहाँसम्म छ भ्रष्टाचार ! हुँदाहुँदा मान्छे अहिले मर्छ कि भरे मर्छ भन्ने ठेगान नभएका बेला कोभिडका औषधि, भ्याक्सिन ! उपकरण खरिदमै भ्रष्टाचार गर्न छोडिएन । खै त पारदर्शिता ? खरिदमा जीटुजी भन्ने गर्छन् तर जीटुजीमा कुन दरमा किन्ने सम्झौता भयो भनेर देखाउँदैनन् । सुशासनको पहिलो सर्त नै पारदर्शिता हो, तर त्यही छैन । मेलम्चीको कुरा गरौं, फास्टट्र्याककै कुरा गरौं ।

कहिले काम सक्ने, कहिले जनताले उपभोग गर्ने ? काममा ढिलासुस्ती गर्नेलाई खै त कारबाही ? विदेशमा पनि भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रणमा छ भन्ने होइन, तर १० प्रतिशत भ्रष्टाचार र ९० प्रतिशत राम्रो काम भएको देखिन्छ । कुन काम बेलैमा सकियो त ? मोबिलाइजेसन खर्च लिने, काम नगर्ने, आयोजनाको अवधि लम्ब्याउनेलाई कारबाही गर्नुपर्छ कि पर्दैन ? मेलम्चीको पानी २० वर्षदेखि जनताले पिउन पाउनुपर्ने हो । अझै कति लाग्ने हो ? पछि जलवायु परिवर्तनको कारण देखाएर, विपत् आएर पानी आउन सकेन भन्न पनि सक्लान् । यसरी लापरबाहीसाथ काम गर्नेलाई कारबाही हुनुपर्‍यो ।

तैपनि नेताहरू बारम्बार कार्यकारी पदमा किन जान खोज्छन् होला ?

आफूले अघि बढाएका कामहरू पूरा गर्न दोहोर्‍याएर सत्तामा जाने हो । तर, यहाँ त पदमा पुगिसकेपछि सेवा, सुविधा, भत्ता, राज्यका निकायमा आफन्त राख्नमा ध्यान जाने गरेको छ । देशमा सुशासन कायम गर्ने, विकास गर्ने दिशामा लागेको देखिँदैन । उल्टो सरकारले भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांकलाई नमान्ने भन्छ । सुशासनको अन्तर्राष्ट्रिय सूचकांकमा नेपालको पोजिसनलाई माथि लैजाने, मानवअधिकारलाई संरक्षण गर्ने र देशलाई अघि बढाउने दिशामा बारम्बार सत्तामा जानेहरूको चिन्ता देखिएन । सुशासनको सूचकांकमा एक नम्बर बढ्यो भने ‘हामीले सुशासन कायम गरेका छौं’ भन्ने, एक नम्बर घट्यो भने ‘हामी मान्दैनौं’ भन्ने कुरा आउँछ ।

२०४८ सालयता निरन्तर सत्तामा रहेका नेताहरूबाट अब सुधार हुँदैन भन्न खोज्नुभएको हो ?

पटक–पटक सत्तामा पुगे, तर केही सुधार गरेनन् । तिनै नेताहरूबाट सुधार हुने भए भइसक्थ्यो । उनीहरूबाट अब सुधारको अपेक्षा गर्न सकिन्न । ठूलठूला घर बनेर सुधार हुन्न । देशको सुधार होइन, नेताहरूको सुधार भएको छ । अहिले नेताहरूको सम्पत्ति विवरण बाहिर निकालौं त, कस्तो अवस्था आउँछ ? हिजो कसरी हिँड्थे, कस्तो लगाउँथे, कस्तो खान्थे, त्यसलाई आजको समयमा तुलना गरौं त ? नेताहरूको जीवनशैली कस्तो छ ? हिजो केही नलिईकन काठमाडौं छिरेका नेताहरूको रातारात आर्थिक समृद्धि भएको छ । त्यसको स्रोत भ्रष्टाचार नभए के हो ?

भ्रष्टाचारबाटै नेताहरूले अकुत कमाइरहेका छन् भने सम्बन्धित निकायहरूले अनुसन्धान र कारबाही गर्न किन नसकेका ?

सरकारमा आफैं छन्, आफैंले आफैंलाई कारबाही गर्न भनेर राज्यका निकायलाई भन्न सक्दैनन् । राज्यका निकायहरू पनि स्वतन्त्र छैनन्, सत्ताको छाया बनेका छन । राजनीतिक दलका नेताहरूसँग साँठगाँठ गरेरै नियुक्ति खाएकाहरूले नेताहरूलाई कारबाही गर्न सक्दैनन् । राम्रा अफिसरले अवसर पाउँदैनन् । जसले नेतासँग साँठगाँठ गर्छ, उसैले अवसर पाउने अवस्था छ । यस्तो अवस्थामा राज्यका संयन्त्रहरूले प्रभावकारी काम गर्न नसकेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक रूपमै स्वायत्त छ, काम गरौं भने कानुनी रूपमा अधिकारसमेत छ, तर पनि राजनीतिक व्यक्ति जोडिएका भ्रष्टाचारमा अख्तियार हात हाल्नै डराउँछ किन होला ?

मैले अघि नै भनें नि, जसले नियुक्ति गरेको छ, उसैको अहित हुने गरी काम गर्न कठिन भएर होला । अख्तियारलाई कानुनी रूपमा पनि बलियो बनाउनुपर्ने अवस्था छ । पछिल्लो पटक स्टिङ अपरेसनको अधिकार दिइएको छैन । अनुचित कार्य हटाइदिएको छ । मुख्य कुरा त अख्तियारमा पनि राजनीतिक दलका नेताहरूसँग नजिकिएका व्यक्तिहरूको मात्रै नियुक्ति हुने गरेको छ । अहिलेकै अख्तियारका पदाधिकारीहरू विवादित रूपमा नियुक्ति भए । अदालतमा केस गयो तर अदालतले अहिलेसम्म पनि लम्ब्याएको लम्ब्यायै छ ।

अदालतले छिटो फैसला दिनुपर्छ, लम्ब्याएर राख्न मिल्दैन । यता संसद्ले प्रधानन्यायाधीशमाथि महाभियोग लगायो, तर निर्णय नगरेरै अड्काएर राखिदियो । जबकि महाभियोग लगाएपछि तीन महिनाभित्रै टुंगो लगाउनुपर्छ । त्यो भएन । आफैंले बनाएको कानुनसमेत राजनीतिक दलका नेताहरूले कार्यान्वयन गरेनन् । भ्रष्टाचार भनेको पैसाको लेनदेन मात्रै होइन, समयमा काम नगर्नु पनि भ्रष्टाचार नै हो । यस्ता प्रवृत्ति पनि भ्रष्टाचार हुन् ।

देशभित्र र बाहिरका गैरसरकारी संस्थाका प्रतिवेदनहरूको विश्वसनीयतामाथि राज्य सञ्चालनमा रहेकाबाट प्रश्न पनि उठाउने गरिएको छ नि ?

टीआईको रिपोर्ट व्यक्तिसँग सोधेर बनाइएको होइन, तथ्य हेरेर विषय विशेषज्ञहरूले तयार पारेका हुन् । सबै रिपोर्ट शतप्रतिशत सही हुन्छ भन्ने हुन्न । हाम्रो शरीरको ब्लड प्रेस त एकै मिनेटकै अन्तरमा एउटै आउँदैन भने यस्तो रिपोर्टमा पनि केही फरक पर्न सक्छ । कोहीले कहाँ कसले कति घूस लियो, सबै राख भन्छन् । भ्रष्टाचारको कुनै इन्डिकेटर हुन्न । एक रुपैयाँ घूस लिए पनि भ्रष्टाचार हो, एक करोड लिए पनि भ्रष्टाचार हो । भ्रष्ट त भ्रष्टै हो नि ! टीआईको सूचकांक विश्वले विश्वास गरेका संस्थाहरूले तयार पारेका हुन् । नेपाललाई तल पार्ने काम हुन सक्दैन । नेपाललाई मात्रै हेरेर बस्ने फुर्सद पनि हुन्न । वर्ल्ड बैंकले तयार गरेको रिपोर्ट मान्ने कि नमान्ने ? वर्ल्ड बैंकमा नेपाल पनि सदस्य हो नि !

पछिल्लो पटक अख्तियारले पनि मन्त्रालयगत रूपमै सरकारका कमीकमजोरी औंल्याएको छ, सुधार गर्न २२ बुँदे सुझाव दिएको छ । भ्रष्टाचारको अनुसन्धान गर्ने निकायकै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गरेको देखिँदैन नि ?

आफ्नो अनुकूल नभएर कार्यान्वयन नगरेको हो । अख्तियार मात्रै होइन, महालेखापरीक्षकको प्रतिवेदनमा पनि सुझाव दिइएको छ । बेरुजु फर्स्योट हुन बाँकी छ । पेस्की असुलउपर गर्नुपर्नेछ । किन हुँदैन ? जनता र मुलुकप्रति राज्य सञ्चालकहरू जिम्मेवार भएनन् । लापरबाहीले, मनखुसीले राज्य चलाउन थाले । टीआईको रिपोर्ट अन्तर्राष्ट्रिय सूचकांक अख्तियारले दिएको सुझाव, महालेखापरीक्षकको कार्यालयले दिएको सुझावमा आधारित छ । त्यति मात्रै मानिदिए पनि धेरै सुशासन आउँछ । तिनमा हरेक मन्त्रालयमा के–के सुधार गर्नुपर्छ भनिएको छ, तर गरिँदैन ।

महालेखा र अख्तियारका वार्षिक प्रतिवेदन हेर्ने हो भने ठूला खरिदबाहेक स्थानीय तहमा बढी भ्रष्टाचार र अनियमितता देखिन्छ । अख्तियारले दायर गरेका मुद्दा पनि स्थानीय तहसँग सम्बन्धित नै धेरै छन् । यसबाट समस्याचाहिँ सबैतिर छ भन्ने देखियो, हैन ?

जनप्रतिनिधिहरू चुनावमा भोट लिन जनतालाई अनेक आश्वासन दिन्छन् । कतिपयलाई प्रशासनिक कुराको जानकारी पनि हुँदैन, ‘हामीले बोलेपछि हुन्छ’ भन्ने ठान्छन् । नियमकानुन मिलाउनुपर्छ भन्ने जानकारी हुँदैन । दिइएको आश्वासन जसरी पनि पूरा गर्नुपर्छ भन्ने होला । तर, सम्बन्धित निकायले बेथिति र अनियमिततामाथि कारबाही सुरु गर्‍यो भने स्थानीय तहमा भ्रष्टाचार रोकिन्छ ।

सुशासन कायम हुन नसक्नुमा कानुन मात्रै अभाव हो कि राज्यसत्ताको ड्राइभर सिटमा बस्ने व्यक्तिकै इच्छाशक्तिको कमी ?

चुनावमा र सरकार बनाउँदा गठबन्धन गर्नुपर्दा हरेक विषयमा सम्झौता गर्नुपर्ने अवस्था छ । चुनावमा पनि नेताहरू म्याच फिक्सिङ नै गर्छन् । आफने दलको विचार, सिद्धान्त र काम देखाएर भोट माग्नुपर्नेमा गठबन्धन गरेर त्यसको बलमा सत्तामा पुग्ने काम मात्रै हुन थाल्यो । यो विकृति हो । कुनै पनि देशमा दुई विपरीत विचारका पार्टी मिलेर सरकार बनाएको मैले देखेकी छैन तर यहाँ त्यो सम्भव भएको छ । गठबन्धनले गर्दा गलत काममा पनि सम्झौता गरेर अघि बढ्नुपर्ने अवस्था खडा भएको छ । देश बनाउनका लागि हो भने गठबन्धन गर्दा पनि गलत काममा सम्झौता गर्नुपर्थेन । तर, यहाँ निःस्वार्थ नेताहरू नै भएनन् ।

विपरीत विचारधारका पार्टीहरू मिलेर सरकार बनाउनु पनि भ्रष्टाचार हो भन्न खोज्नुभएको ?

म्याच फिक्सिङ नै हो । यो पनि अन्ततः भ्रष्टाचारमै गएर जोडिएको छ । जनतालाई ‘हामीले जसरी भए पनि सरकार चलाएका छौं’ भनेर देखाउनेबाहेक केही भएको छैन । सरकारमा आफ्नो हालीमुहाली गर्ने, बजेट बाँडफाँटमा आफ्नो हात माथि पार्ने र सरकार चलाउनेबाहेक केही काम देखिएको छैन ।

प्रधानमन्त्रीले केही गर्न खोज्नुभएको जस्तो देखिन्छ । तर, कतै गठबन्धन त कतै संवैधानिक निकायका कारण भनेजस्तो काम देखाउन पाइन भन्ने गुनासो पनि आउँछ । कतै हामीले अँगालेको प्रणालीकै कमजोरी त होइन ?

कुनै प्रणाली राम्रो र नराम्रो होला तर अहिले हामीले स्विकारेको प्रणाली विश्वमै उत्तममध्येको हो । कमीकमजोरी छन्, तर विश्वमै योभन्दा राम्रो प्रणाली देखिएको छैन । ड्राइभ गर्ने मान्छे राम्रो भयो भने प्रणाली राम्रो हुने हो । तर, ड्राइभ गर्ने मान्छे नै खराब भयो भने प्रणाली कमजोर बन्छ । भुटानमा राजा छन् । युरोपका धेरै देशमा राजा छन् ।

यूकेमा प्रधानमन्त्रीले सिल्टबेल्ट नलगाएमा, गाडी चलाउँदा फोटो खिचेमा त्यहाँको सामान्य सिपाहीले समेत कारबाही गर्छ । यहाँ गर्न सक्छ ? सुशासन भनेको त्यस्तो हुनुपर्छ । हामीकहाँ ठूला नेताहरूलाई मान्नुपर्ने, आफूलाई मान्नेहरूलाई मात्रै वरिपरि राख्ने, राम्रो सुझाव दिनेलाई विरोधी ठान्ने प्रवृत्ति छ । विदेशतिर विपक्षी दलको कुरा पनि सुनिएको हुन्छ । यहाँ सुनिँदैन । यहाँ त विपक्षी दल पनि छैन । सबै सत्ता पक्षजस्ता छन् ।

भ्रष्टाचारमा कार्यकारी तह बढी केन्द्रित हुने गरे पनि पछिल्लोपटक न्यायालयभित्र पनि भ्रष्टाचार बढेको छ भनिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?

तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सार्वजनिक गरेको प्रतिवेदनले न्यायालयभित्र भ्रष्टाचार छ कि छैन भन्ने प्रस्ट्याउँछ । धेरैजसो प्रधानन्यायाधीश अवकाश भएपछि ‘अदालतमा भ्रष्टाचार छ’ भन्नुहुन्छ । त्योभन्दा अरू प्रमाण के चाहियो ? न्यायाधीश नियुक्ति प्रणालीमै परिवर्तन गर्नुपर्छ भन्नेमा सबैको जोड छ । अहिले त भागबन्डामा न्यायाधीशको नियुक्ति हुन्छ । भागबन्डामा नियुक्ति हुने अवस्था रहेसम्म यस्तो बेथिति रहिरहन्छ ।

अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दाहरूमा गरेका फैसलालाई तपाईंहरूले कसरी हेर्ने गर्नुभएको छ ?

राजनीतिक प्रभाव देखिन्छ । अदालतले सजाय गरेको मुद्दामा सरकारले नमानेर अभियुक्तलाई छुटाएका उदाहरणहरू पनि छन् । धेरैजसो अभियुक्तलाई कानुनविपरीत आममाफी दिइएको छ । एउटा अपराधी निस्केपछि समाजमा फेरि अपराध बढ्छ ।

पुराना पार्टीका नेता र दलप्रति अहिले वितृष्ण बढिरहेको छ । विकल्पमा नयाँ राजनीतिक दलको पनि प्रवेश भएको छ । उनीहरूबाट आशा गर्ने ठाउँ कत्तिको देख्नुहुन्छ ?

पुराना दलहरू व्यवस्था परिर्वतन गर्न सफल भए, तर देशको विकास र सुशासन गर्ने दिशामा चुकेका छन् । नेताहरू राजसी शैलीमा अघि बढे । यसको विकल्पमा आएका नयाँ पार्टीका नेताका बारेमा जुन रूपमा सिलसिलेबार समाचार आइरहेको छ, त्यसले जनतालाई थप निराश बनाउनेबाहेक केही गरेको छैन । जो आए पनि उस्तै हो भन्ने भएको छ । नयाँ पार्टीहरू सम्हालिन सकेनन् । आउनासाथ सत्तामा जाने, ठूलो पद खोज्ने काम भयो । पद पाएर सम्हालिन सकेनन् । नयाँ पार्टीहरू स्वच्छ छविको हुनुपर्छ ।कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार