श्रावण ५, २०८२ सोमबार July 21, 2025

संविधानमा निःशुल्क भनिएका स्वास्थ्य सुविधा सरकारले उपलब्ध गराउँछ : मन्त्री बस्नेत

निःशुल्क भनेका स्वास्थ्य सुविधालाई नेपाल सरकारले उपलब्ध गराएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यलाई संविधानमा निःशुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा निःशुल्क उपचार नपाउने भएर नागरिकको ज्यान जाने अवस्था हुनुहुँदैन भन्नुभएको छ ।

मन्त्री बस्नेतले संविधानले निःशुल्क भनेका स्वास्थ्य सुविधालाई नेपाल सरकारले उपलब्ध गराएको जानकारी पनि दिनुभयो ।

मानसिक स्वास्थ्य अस्पताल लगनखेलको किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइ उद्घाटन समारोहमा मन्त्री बस्नेतले हरेक एक सय जनामा १० मानसिक रोगी भेटिने गरेको तथ्य पाइएको पनि उल्लेख गर्नुभयो ।

“बालबालिका र किशोर किशोरीका लागि एकीकृत रूपमा छुट्टै युनिट खडा गरेर उपचार सेवा दिने उद्देश्यले यो सेवा सुरु गरेकामा हार्दिक आभार दिन चाहन्छु । सरकारले गर्नुपर्ने काम निजी साझेदार संस्था र विकासका साझेदार संस्थाबाट भएको छ । मानसिक रोगी बढ्नुका कारण पत्ता लगाएर त्यसलाई रोक्न ध्यान दिनुपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो ।

समस्यामा परेका व्यक्तिले समयमा उपचार पाउने सुनिश्चितता छैन भन्ने साँचेर पनि मानसिक रोग बढेको भन्ने पाइएकाले यसका लागि राज्य, सङ्घसंस्था र नागरिक सबै मिलेर समाधानको प्रयास सुरु गर्नुपर्छ भन्नुभयो ।

ललितपुर क्षेत्र नं २ का सांसद प्रेमबहादुर महर्जनले मानिसको जीवनमा हुने धेरै घटनाका कारण मानसिक रोगी बन्न पुगेकालाई समयमै उपचार गर्नुपर्ने सुझाव दिनुभयो ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले मानसिक स्वास्थ्यलाई ख्याल राखेर बिरामीलाई सेवा पु¥याउनका लागि आवश्यक समन्वय र सहकार्य गर्ने बताउनुभयो ।

नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले नेपाल नर्वे कूटनीतिक सम्बन्धका बारेमा चर्चा गर्दै मानसिक स्वास्थ्य समस्या समाधानका लागि नर्वे नेपाल सरकारसँग सहकार्यका साथ अगाडि बढ्ने बताउनुभयो ।

किशोरकिशोरी सञ्जाल मधेस प्रदेशकी सदस्य खुसी चौरासियाले प्रविधि र इन्टरनेटको अहिलेको समयमा किशोर किशोरीको स्वास्थ्यलाई ध्यान दिएर गरिएको यो प्रयास अति आवश्यक र महत्वपूर्ण कार्य भएको बताउनुभयो ।

सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले उत्पीडनमा परेका बालबालिका मनोचिकित्साको समस्या भएको बताउँदै किशोर किशोरीका लागि सेवा प्रदान गर्ने अभिप्रायले छुट्टै युनिट खडा हुनु खुसीको कुरा हो भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया