जेठ ७, २०८१ सोमबार May 20, 2024

एमसिसिबारे निर्णय गर्न नेकपाले असार १० गते स्थायी समितिको बैठक बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको छ । पार्टीभित्र अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका मुद्दामा विवाद भइरहेका बेला अध्यक्षद्धयबीच बुधबार वान टु वान छलफलपछि बैठकको मिति तय भएको हो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच  बुधबार साँझ भएको भेटवार्तामा स्थायी कमिटी बैठकको मिति तय भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ओली र दाहालबीच बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा झण्डै  दुइघण्टा वान टु वान भेटवार्ता भएको हो ।

अनिश्चतकालका लागि स्थगित भएको स्थायी समिति बैठक बोलाउन पटक पटको अध्यक्षद्धयबीच बैठक कहिले बोलाउने भन्नेमा छलफल भए पनि मिति तय हुन सकेको थिएन । स्थायी कमिटी बैठक बोलाएकाले एमसीसीको छिनोफानो अब त्यहीँबाट हुने सम्भावना बढेको छ ।

एमसीसीलाई लिएर नेकपामा तिब्र विवाद छ । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्‌बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ । यसअघि पहिला २५ र पछि वैशाख ३१ मा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

वैशाख ३१ मा बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने भनिएको बैठक सदस्यहरूको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो । त्यसबेला स्थायी कमिटीका सबै सदस्यको कोरोना परीक्षण गरेरमात्र बैठक बस्ने भनिएको थियो । बैठकमा सरकारको नीति तथा कार्यक्रम, कोभिड-१९ र भारतद्वारा अतिक्रमित नेपाली भूमिका बारेमा छलफल गर्ने कार्यसूची थियो ।

नेकपाका २० स्थायी कमिटी सदस्यले वैशाख १० मै पार्टी अध्यक्षद्वयलाई पत्र लेखेर बैठक बोलाउन लिखित माग गरेका थिए । तर, धेरै पछि २५ वैशाखका लागि बोलाइएको बैठक पनि अघिल्लो दिन स्थगित गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया